बलिउड हंगामामा प्रेमगीत ३ को चर्चा
काठमाडौं–अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ नेपालसँगै भारतका विभिन्न सहरमा आगामी असोज ७ अर्थात सेप्टेम्बर २३ मा प्रदर्शनमा आउँदैछ । भारतमा पनि फिल्म रिलिज हुने भएपछि भारतीय सञ्चारमाध्यमले ‘प्रेमगीत ३’को विषयमा समाचारका माध्यमबाट प्रचारप्रसार सुरु गरेका छन् ।
बलिउड हंगामाले आफ्नो अनलाइनमा ‘पहिलो इण्डो–नेपाल फिल्म ‘प्रेमगीत ३’’ भन्दै फिल्मको बारेमा समाचार लेखेको छ । फिल्म युनिटले रोमाञ्चक पोस्टर सार्वजनिक गरेको र ट्रेलर सेप्टेम्बर १ मा रिलिज हुने समाचारमा उल्लेख गरेको छ ।
अनलाइनले अभिनेता प्रदीपलाई ‘नेपाली फिल्म उद्योगको सबैभन्दा ठूलो स्टार’ भनेको छ ।
फिल्मका भारतीय निर्माता सुवास कालेले फिल्म ‘प्रेमगीत ३’ हेर्न भारतीय दर्शकले फिल्मको टिकट किनेर हलमा फिल्मको जादुमयी कला हेर्न चाहेको बताएका छन् । फिल्ममा भारतीय गायकगायिकाहरु अंकित तिवारी, पलक मुछाल, देभ नेगी, राहत फतेह अली खान, पवनदीप राजनलगायतको स्वर रहेकाले पनि भारतीय दर्शकले फिल्म हेर्नेमा आफू ढुक्क रहेको सुवासको दाबी छ ।
अभिनेता प्रदीप पनि भारतमा फिल्म रिलिज हुने भएपछि खुशी छन् । ‘मलाई यो मेरो नयाँ जन्मजस्तो लागेको छ । नेपाली फिल्मको ५० वर्षको लामो फिल्मको इतिहासमा पहिलो पटक नेपाली फिल्म उद्योगको प्रतिनिधित्व गर्दै नयाँ संसारमा प्रवेश गर्ने मौका पाएकाले यो मेरा लागि नयाँ पहिचान हो’, उनले भनेका छन् ।
अभिनेत्री कृष्टिना गुरुङले करियरको पहिलो फिल्मले नै बलिउडका हलमा प्रदर्शनको अवसर पाउनु आफ्ना लागि खुशीको कुरा भएको बताएकी छन् । ‘यो मेरो कल्पनाभन्दा बाहिरको कुरा हो । म खुशी छु’, कृष्टिनाले भनेकी छन् ।
निर्देशक सन्तोष सेनले आफ्नो पहिलो इन्डो–नेपाली फिल्ममात्र नभई नेपाली फिल्म उद्योगको इतिहासमा पहिलोपटक भारतमा पनि एकसाथ फिल्म रिलिज गर्न पाउनु आफ्ना लागि महत्वपूर्ण खुशी भएको बताएका छन् । ‘भविष्यका लागि फिल्मको पाठ्यक्रम तय गर्न जिम्मेवार महशुस गरेको छु’, उनले भनेका छन् ।
निर्माता सुवासले नेपाली फिल्मले केही राम्रा फिल्म बनाइरहेको खुशी व्यक्त गरेका छन् । उनले साउथ फिल्मलाई भारतीय दर्शकले खुला हृदयले स्वागत गरिरहँदा ‘प्रेमगीत ३’लाई पनि त्यसरी नै स्वागत गर्नेमा ढुक्क रहेको उल्लेख गरेका छन् ।
सन्तोष र दिवंगत निर्देशक छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, माओत्से गुरुङ, सुनिल थापा र मनिष राउतको पनि अभिनय छ । फिल्ममा सुवास र सन्तोषसँगै सुष्मा शिरोमणिको पनि लगानी छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:२५
प्रतिक्रिया दिनुहोस्