Nic Ad Nic Ad
Nic Ad Nic Ad

अनुदानका लागि सुरु गरिएका कृषि फर्म अलपत्र

बिहीबार, मंसिर ८, २०७९
पर्वत– पर्वतमा सरकारी अनुदान लिनका लागि खोलिएका कृषि तथा पशु फर्म धमाधम बन्द हुन थालेका छन् । केही वर्षअघि व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)बाट डेढ करोड रुपियाँ अनुदान पाएको पर्वतको महाशिला गाउँपालिकाको नमुना बाख्रा फर्म अनुदान पाएको एक वर्षपछि अलपत्र भयो । महाशिला १ होश्राङ्दीमा बाख्राको स्रोत केन्द्रको रुपमा विकास गराउन भन्दै सञ्चालनमा आएको बाख्रा फर्म एक वर्षपछि अलपत्र परेको हो । २०७४ सालमा आयोजनाबाट अनुदान पाएको फर्ममा अहिले झार र सिस्नो भरिएको छ । भवन खण्डहर बनेको छ । स्थानीयवासीका अनुसार अनुदानका लागि फर्मका भवन बाहेक केही छैन । दुई सय रोपनी क्षेत्रफलमा बाख्रा पालनका लागि बनेका ६ वटा खोरमा अहिले बाख्रा छैनन् । पहुँचको भरमा ल्याएको अनुदानको दुरुपयोग भएको स्थानीयवासी भीमप्रसाद काफ्लेले बताए। दुई छाक खानका लागि जोहो गर्न खाडी जानुपर्ने बाध्यता रहेको गाउँपालिमा करोडौँ रुपियाँका फर्म अलपत्र पारिएको काफ्लेले बताए। उनका अनुसार बाख्रा पालनका लागि भनेर संरचना बनाएको भए पनि बाख्रा देख्न पाइएन । अनुदान ल्याउन मात्रै बाख्रा देखाइएको तर हाल बाख्रा नै नरहेको स्थानीयवासी बताउँछन् । केही समय करिब ५० वटा बाख्रा राखिएको भए पनि अहिले ती बाख्रा बेचेर भवन मात्रै रहेको स्थानीय कला भट्टराईले बताए । स्थानीय २९ जनाको शेयर र प्याक्टको अनुदानमा सुरु गरिएको सो परियोजना अलपत्र परे पनि कुनै निकायले अनुगमन नगरेको स्थानीयको भनाइ छ । स्थानीयवासी २९ जनाको संलग्नतामा होश्राङ्दी, उराम, भोक्सिङका कृषकहरूले साझेदारीमा सञ्चालन गरेको भएपनि आर्थिक सङ्कटका कारण फर्म बन्द भएको महाशिला गाउँपालिकाका अध्यक्ष तथा फर्मका मुख्य सञ्चालक ईश्वरीप्रसाद भुसालले जानकारी दिए । अनुदानसहित रु।३ करोड रुपियाँको लागत अनुमान गरिएकोमा परियोजनाबाट प्राप्त अनुदानबाहेक व्यक्तिले लगानी नगरेपछि सरकारी अनुदानको सदुपयोग नभएको उनले बताए । फर्ममा ५ सय माउ बाख्रा पाल्ने गरी बनाइएका घाँस सङ्कलन गर्नेदेखि पानी खुवाउने सम्मका संरचना बनिसकेका छन् । अनुदान उपलब्ध गराउने समयमा भने फर्ममा बाख्रा रहेको भेटनरी अस्पताल एवम् पशु विज्ञ केन्द्र पर्वतले बताएको छ । केन्द्रका प्रमुख रामजी पौडेलले अनुदान उपलब्ध गराउँदा फर्ममा बाख्रा रहेको तर अहिले भने अनुगमन नभएको स्विकारे । यस्तै, जिल्लाको कुश्मा नगरपालिका २ को अर्मादीमा सञ्चालनमा आएको कुखुराको मासु प्रशोधन केन्द्र अहिले शेयरमा विक्री भइसकेको छ । कृषक लालबहादुर हरिजनले सञ्चालन गरेको उक्त फर्म अनुदान आफूले लिएर अन्य व्यक्तिलाई शेयर विक्री गरेको पाइएको छ । उनको नमुना व्यावसायिक कृषि फर्म अम्बोटमा समेत अनुदान आएपछि विक्री गरिएको बताइएको छ । योसँगै ठुला अनुदान पाएका जिल्लाका अन्य ठाउँका फर्महरू पनि बन्द भएका छन् । केही अनुदान पाएपछि विक्री भएका छन् । उत्पादनभन्दा अनुदानमुखी कार्यक्रमहरूले जिल्लाको बेरोजगारी कम गराउनुको सट्टा राज्यले करोडौँ लगानी गरेका फर्महरू अहिले खण्डहरमा परिणत हुँदै आएको कृषकहरूको गुनासो छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार