कतारमा ५० हजार भन्दा माथि नगद कारोबारमा रोक
दोहा– सम्पत्ति शुद्धीकरण र अबैध कारोबारलाई नियन्त्रण गर्न कतारले ५० हजार कतारी रियालभन्दा माथिको नगद कारोबारमा प्रतिबन्ध लगाएको छ ।
कतार केन्द्रीय बैंकले आफ्नो आधिकारिक ट्विटर एकाउन्ट मार्फत सरकारको यो निर्णयको जानकारी दिएको हो ।
उक्त ट्विटमा क्यूसीबीले मन्त्रिपरिषद्को निर्णयअनुसार ५० हजार कतारी रियालभन्दा बढीको नगद धेरै प्रकारका कारोबारमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको लेखेको छ ।
५० हजार रियालभन्दा माथिको कारोबारमा व्यक्तिले चेक, क्रेडिट कार्ड, डेबिट कार्ड वा बैंक ट्रान्सफरबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।
५० हजारभन्दा बढी कतारी रियाल सबै प्रकारका सम्पत्तिको बिक्री, खरिद र भाडामा र सम्पत्ति परिमार्जन गर्न प्रयोग गर्न नपाइने उल्लेख छ ।
साथै, यो प्रतिबन्ध सबै प्रकारका सवारी साधन, बहुमूल्य धातु, रत्न र आभूषण आदिको बिक्री, खरिद र भाडामा लागू हुनेछ।
यसबाहेक ऊँट, घोडा, गाईवस्तु, बाज आदिको हकमा पनि यो शर्त लागू गरिएको छ । यो प्रतिबन्ध समुद्री यातायातको मामलामा पनि लगाइएको छ।
यसअघि गत साउनमा पनि नगदमार्फत लग्जरी कार किनेर अवैध रुपमा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा सात जना पक्राउ परेका थिए ।
कतारमा सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको आरोप प्रमाणित भएमा जेलसहित चर्को जरिवानाको व्यवस्था छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:५६
प्रतिक्रिया दिनुहोस्