चलचित्र पत्रकारद्वारा प्रेमगञ्ज पराजित
काठमाडौं–नेपाली फिल्म ‘प्रेमगञ्ज’ र चलचित्र पत्रकारबीच भएको फुटसल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ ।
आइतबार कुलेश्वरस्थित भिजिनोभा रिक्रिएसन सेन्टरमा भएको प्रतियोगितामा पत्रकारको टोलीले फिल्मको टोलीमाथि ३–२ को जित निकालेको हो । पत्रकारको तर्फबाट तीनै गोल पत्रकार विजय आवाजले गरेका थिए । ‘प्रेमगञ्ज’ टोलीले फर्काएको दुई गोल फिल्मका मुख्य अभिनेता तेज गिरीले प्रहार गरेका थिए ।
फिल्मको तर्फबाट अभिनेता तेज गिरीबाहेक अभिनेत्री बेनिशा हमाल, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल र सिमरन खड्का मैदानमा उत्रिएका थिए ।
साउन १५ मा खीर खाने कार्यक्रमसहित आयोजना गरिएको कार्यक्रममा अन्तरक्रियासमेत गरिएको थियो । निर्देशक परिच्छेदसहित उपस्थित कार्यक्रममा निर्देशक तथा कलाकारले फिल्मले प्रेमका आयामलाई फरक उमेर समूहको प्रेम अभिव्यक्तिमार्फत देखाउने प्रयास गरेको बताएका थिए ।
निर्देशक परिच्छेद सेनले आफूलाई डेब्यूका लागि अरु कथा पनि हुँदाहुँदै यो कथा छान्नमा विशेष कारण रहेको बताए ।
अभिनेत्री बेनिशा हमालले पनि फिल्ममा आफूले समर्पित प्रेमीको भूमिका निर्वाह गरेको बताएकी थिइन् ।
कार्यक्रममा सम्पदा बानियाँ, राइडर प्रशन, सुप्रिया खनाल र सिमरन खड्काले पनि फिल्मको आफ्नो अनुभव सुनाएका थिए ।
अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्म आउँदो भदौ ३ मा प्रदर्शनमा आउँदैछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:५३
प्रतिक्रिया दिनुहोस्