नेपाल ६ महिनामै तरकारीमा आत्मनिर्भर हुन सक्छ : अर्थमन्त्री शर्मा
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने बताएका छन् । आज (मंगलबार) भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गरे । मन्त्री शर्माले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताए ।
उनले भने, ‘किसानको भूमिका महत्वपूणर् हो । हामीसँग भएको जमिन, जङ्गल र श्रम हो । यसको श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा आज नेपाललाई समुन्नत गर्न सकिन्छ । उत्पादन वृद्धि गर्ने, आयातमा भर परेको अर्थतन्त्रलाई अहिले आन्तरिक उत्पादनमा आधारमा अर्थतन्त्र सुधार गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अहिलेको वर्षको बजेट पास भएको छ । बजेटले किसानका महत्त्वपूर्ण भूमिकालाई अझ माथि उठाउन प्रयास गरेको छ ।’
उनले थपे, ‘लघुवित्तहरूले ऋण दिनुपर्छ भनेर बजेट पास भएको छ । किसानको घर-खेतमा गएर लगानी गर्ने विषय अगाडि बढाएको छ । किसानलाई पेन्सनको कुरा बजेटमा आएको छ । कृषिमा आत्मनिर्भरता र औधोगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको छ । सबै उमेरकालाई कृषि क्षेत्रको उत्पादनमा सहभागी गरौँ । काठमाण्डौका लागि चाहिने तरकारी काठमाण्डौ आसपासको जिल्लाले उत्पादन गरौँ । अब आयात गरेर खाइरहेको कुरालाई अन्त्य गर्नुपर्छ । तरकारीमा ६ महिनामा आत्मनिर्भर हुन सक्छौँ । औद्योगिक क्षेत्रमा चार वर्षमा ठूलो प्रगति गर्न सक्छौँ । कृषि उत्पादन वृद्धि, आत्मनिर्भर अर्थतन्त्रमुखी बजेट कार्यान्वयनमा चुनौती रहेको छ । सबै मिलेर कार्यान्वयन गर्नुपर्छ ।’
मन्त्री शर्माले भूमिहीनहरूलाई जमिन दिएर, पुँजी नहुनेहरूका लागि पुँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले कृषिमा जोडे मात्रै देशको अर्थतन्त्र सबलीकरण हुनसक्ने बताए ।