श्रीलंकाका सरकारी कार्यालयहरु अब शुक्रबार पनि खुला हुने
काठमाडौँ - श्रीलङ्काका सरकारी कार्यालयहरू अब शुक्रबार पनि खुल्ने भएका छन् । शुक्रबार पनि बिदा दिने यसअघिको निर्णय मन्त्रिपरिषद्ले मंगलबार रद्द गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
श्रीलङ्कामा इन्धनको अभावका कारण सरकारी कार्यालयको समयावधि छोट्याएको थियो । अहिले भने सार्वजनिक यातायात सेवा सामान्य अवस्थामा फर्किएकाले शुक्रबारको बिदा कायमै राख्नु औचित्यपूर्ण नहुने निष्कर्षसहित शुक्रबार पनि कार्यालय सञ्चालन गर्ने निणर्य गरिएको हो ।
त्यसैगरी व्यावसायिक प्रतिष्ठान तथा बजार पनि बेलुका चाडै बन्द गर्नु पर्ने व्यवस्था गरिएको थियो । मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनावार्डेनाले आगामी शुक्रबारदेखि नै यो निणर्य कार्यान्वयन हुने जानकारी दिए । श्रीलङ्कामा आर्थिक संकट उत्पन्न भएपछि इन्धन खरिद गर्न नसकेर देशभरी इन्धन अभाव भएको थियो । इन्धन र आर्थिक संकटका कारण राजनीतिक संकट पनि उत्पन्न भएको छ ।