Nic Ad Nic Ad
Nic Ad Nic Ad

पवित्रा र उषालाई निशा घिमिरे स्मृति पुरस्कार

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–निशा घिमिरे स्मृति कोषले स्थापना वर्षको ‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ । कोषको हालै बसेको बैठकले दुवैलाई सम्मानसहित जनही २५ हजार रुपैंयाँ प्रदान गर्ने निर्णय गरेको हो । कोषका संयोजक दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको बैठकले नर्भिक अस्पतालका मेघा चौधरी, सञ्चारकर्मी प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई विशेष सम्मान अर्पण गर्ने पनि निर्णय गरेको छ । केही वर्षअघि भारतमा सडक दुर्घटनामा परेकी अभिनेत्री, मोडल निशालाई नेपालमा ल्याएपछि नवजीवन परोपकार समाजको पहलमा मेघा चौधरीमार्फत नर्भिक अस्पतालमा निःशुल्क उपचार गरिएको थियो । ५–६ महिनाको उपचारपछि उपचाररत अवस्थामा नै घिमिरेको २०७८ भदौ १६ गते निधन भएको थियो । निशा उपचाररत अवस्थामा नै देशविदेशमा रहेका शुभेच्छुकहरुले निशाको स्वास्थ्य लाभको कामना गर्दै सहयोग रकम पठाएका थिए । गत वर्ष घिमिरेको नाममा नवजीवन परोपकार समाज र नेपाल चलचित्र कलाकार संघको पहलमा संरक्षण कोष गठन गरिएको थियो । शुभेच्छुकदाता र रजतपटका सञ्चालक सञ्चारकर्मी प्रकाश सुवेदीको सक्रियतामा कोषमा जम्मा हुन आएको रकमलाई निशा दिवंगत भएपछि अक्षय कोषमा राखी प्रत्येक वर्ष दुई मोडल, अभिनेत्रीलाई पुरस्कार दिने निर्णय भए बमोजिम यस वर्षको पुरस्कार आचार्य र उप्रेतीलाई समर्पण गर्ने निर्णय गरिएको हो । हाल निशा घिमिरे स्मृति कोषमा दुर्गानाथ दाहाल, मोहन निरौला र निशाकी दिदी उषा घिमिरे छन् । उक्त पुरस्कार र सम्मान आगामी भदौ १६ गते प्रदान गरिनेछ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:३२
प्रतिक्रिया दिनुहोस्