Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्णाली प्रदेश: ५७ प्रतिशत जनतामा पुग्याे विद्युत सेवा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– कर्णाली प्रदेशमा हालसम्म ५७ प्रतिशत जनतामा विद्युत सेवा पुगेको छ। गत आर्थिक वर्षमा ४३ प्रतिशतमात्र विद्युत पुगेको कर्णालीमा यो वर्ष १४ प्रतिशतले विद्युत विस्तारमा वृद्धि भएको हो । नेपालको विद्युत आपूर्तिमा सबैभन्दा चुनौतीको रुपमा रहेको पिक डिमान्ड भने कर्णालीमा १८ एमभीए रहेको छ । बिहान र बेलुकीको समय नेपालको विद्युत प्रणालीमा उच्च भार पर्ने गर्छ । कर्णाली प्रदेश क्षेत्रीय कार्यालयका प्रमुख इन्जिनियर शम्भु कुसियैत यादव अबको डेढ वर्षमा कर्णालीका सबै जिल्ला र गाउँपालिकामा विद्युत पुर्‍याउने लक्ष्य राखेर काम भइरहेको बताउँछन्। ‘१० वटा जिल्लाहरू मध्ये ७ वटा जिल्लामा विद्युत पुगेको छ।’ कार्यालय प्रमुख यादवले भने, ‘बाँकी जिल्लामा पनि चाँडै नै विद्युत पुग्छ ।’ कर्णाली प्रदेशका १० वटा जिल्लाहरू मध्ये डोल्पा, हुम्ला र मुगुमा राष्ट्रिय प्रशारण लाइन पुगेको छैन । स्थानीय तहमा उत्पादन हुने विद्युतले माग धान्न सकिरहेको छैन। पहाडी जिल्लाहरू भन्दा पनि कर्णाली प्रदेशको राजधानी सुर्खेतका पनि केही गाउँपालिकामा विद्युतको राष्ट्रिय प्रसारण लाइन अझै पुग्न सकेको छैन ।  विद्युत प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख यादवका अनुसार सुर्खेत जिल्लाको चिङगाढ र चौकुने गाउँपालिकामा विद्युत पुग्न सकेको छैन। प्रसारण लाइनका लागि काम भइरहेको र आगामी १५ दिनदेखि १ महिनाभित्रमा विद्युत पुग्ने प्रमुख यादवको भनाइ छ। प्रदेशका सल्यान र रुकुम पश्चिममा विद्युत पुगेको उनले बताए । जाजरकोटको बारेकोट, जुनीचाँदे, र कुशे गाउँपालिकामा विद्युत पुग्न केही समय लाग्न सक्ने उनको भनाइ छ। पहाडी जिल्लाहरूमा बाटोघाटो नपुगेको र पुगेकै ठाउँमा पनि सहज नभएका कारण विद्युत पुर्‍याउन समय लागेको उनको भनाइ छ।  कालिकोटको महावै गाउँपालिका र जुम्लाको गुठिचौर, कनकासुन्दरीपातारासी गाउँपालिकामा पनि विद्युतको पोल गाड्ने काम भइरहेको प्रमुख यादवको भनाइ छ। दैलेखको पश्चिम आठविस नगरपालिकामा कम विद्युत पुगेको र नौमुले आयोजनाको ८ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जा्ेडिएको पनि प्रमुख यादवको भनाइ छ।  विद्युतमा देश आत्मनिर्भर हुने र अन्तरदेशीय व्यापार गर्ने बहस चलिरहेका बेला देशकै कर्णालीमा अझै बत्ती पुग्न नसकेको हो। कर्णाली प्रादेशिक कार्यालयका प्रमुख यादव कर्णालीमा भौगोलिक विकटताका कारण विद्युत प्रसारणका लागि चुनौति भएको बताउँछन् । उनले पहाडी र हिमाली भूगोल बढी भएकाले यहाँ प्रसारण लाइन विस्तार गर्न समस्या हुँदै आएको जानकारी दिए।  ‘कर्णालीमा झण्डै ८ महिना बाटो बन्द हुन्छ’ प्रमुख यादवले भने, ‘चार महिना वर्षाको कारणले गर्दा कर्णालीका सबै जिल्लाहरूलाई छुने सडक बन्द हुन्छन् भने अर्को चार महिना जति हिमाली जिल्लाहरूमा हिमपातका कारण बाटो बन्द हुन्छ। विद्युत प्राधिकरणले चाहे अनुसारको काम गर्न सकिरहेको छैन् ।’ यस्तै, विकट ठाउँ भएकाले पनि सामान पुर्‍याउने, अनुगमनमा जाने, पोल गाड्ने काममा पनि प्रतिकुल असर हुँदै आउने गरेको छ। ‘देशका अन्य ठाउँमा जमीन खन्दा माटो आउँछ । यहाँ ढुङ्गा आउँछ’ यादव सुनाउँछन्, ‘ढुङ्गा खोपेर विद्युतको पोल गाड्नु आफैमा सबै भन्दा ठूलो चुनौति हो।’   हालसम्म नेपाल विद्युत प्राधिकरणले संचालन तथा उत्पादन गरेको जम्मा जलविद्युत क्षमतो ५७३.१२ मेगावाट ग्रिडमा जोडीएको रे ४.५४ मेगावाट ग्रिडमा नजोडिएको गरी जम्मा जलविद्युत क्षमता ५७७.६६ मेगावाट रहेको छ। त्यस्तै, थर्मल विद्युत ५३.४१ मेगावाट, सोलार विद्युत ११.६ मेगावाट गरी जम्मा नेपाल विद्युत प्राधिकरणबाट उत्पादित विद्युत ६४२.६७ मेगावाट रहेको प्राधिकरणले जनाएको छ। निजि क्षेत्रको विद्युत १४१२.७४ मेगावाट गरी नेपालमा जम्मा २०५५.७४ मे.वा. विद्युत उत्पादन भएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए।  हालसम्म मुलुकको करिब ९० प्रतिशत विद्युतीकरण कार्य गर्न सफल भएको उनको भनाइ छ। प्राधिकरणले मुलुकभर रहेका वितरण केन्द्रहरु मार्फत  गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ५२ लाख २८ हजार ६१२ ग्राहकहरुलाई विद्युत सेवा प्रवाह गर्दै आइरहेको प्रवक्ता भट्टराईको भनाइ छ।   
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार