Nic Ad Nic Ad
Nic Ad Nic Ad

रोपाइँ सकिन लाग्दा २५ सय मेट्रिक टन मल वीरगञ्ज आइपुग्यो

बिहीबार, मंसिर ८, २०७९

वीरगञ्ज - धानबालीका लागि लक्षित गरी नेपाल सरकारले ओमानबाट खरिद गरेको युरिया मल रोपाइँ सकिन लाग्दा बल्ल नेपाल भित्रन थालेको छ । नेपाल सरकारले ओमानबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मलमध्ये पहिलो खेपमा २५ सय अर्थात ५० हजार बोरा मल बिहीबार वीरगञ्ज आइपुगेको हो ।

कोलकत्ता बन्दरगाहबाट २५ सय टन मल बोकेर हिँडेको रेल बिहीबार दिउँसो वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) मा आइपुगेको वीरगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय प्रमुख चन्द्र चौलागाईंले जानकारी दिए ।

नेपाल सरकारले ग्लोबल टेण्डरमार्फत ओमानबाट खरिद गरेको ३० हजार मेटन युरिया मल आपूर्तिको जिम्मा स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले लिएको छ । चौलागाईंका अनुसार कोलकत्ता बन्दरगाहबाटै थप २५ सय मेट्रिक टन युरिया मल बोकेर हिँडेको अर्को रेल भारतकै बाटोमा रहेको र अबको तीनचार दिनभित्रमा उक्त रेल पनि ड्राइपोर्टमा आइपुग्नेछ । ओमानबाट खरिद गरिएको कूल ३० हजार युरियामध्ये २२ हजार ५ सय मेट्रिक टन मल वीरगन्जकै ड्राइपोर्ट नाका हुँदै भित्रिनेछ भने बाँकी ७ हजार ५ सय मेटन मल विराटनगर नाका हुँदै आउने चौलागाईंले जानकारी दिए ।

खरिद गरिएको सबै ३० हजार मेट्रिक टन युरिया मल ९ खेपमा गरेर नेपाल भित्रिने उनले बताए । उनले भने, ‘अहिले फस्ट लटमा २५ सय टन आएको हो, सबै मल आइपुग्न अबको १२ देखि १५ दिन लाग्छ ।’ बिहीबार वीरगन्जको सिर्सिया ड्राइपोर्टमा आइ पुगेको २५ सय मेटन (५० हजार बोरा) युरिया मल एक सातापछि मात्रै सम्बन्धित जिल्लाहरुमा वितरणका लागि पठाइने चौलागाँइले जानकारी दिए । त्यसपछि मात्रै किसानहरुले मल पाउने उनले बताएका छन् ।

त्यसपपछि ड्राइपोर्टबाट मलको भन्सार जाँचपास हुन्छ, त्यसपछि ड्राइपोर्टबाट ट्रकमा कम्पनीको गोदाममा ल्याउँछ । अनि बिक्री वितरणका लागि सम्बन्धित जिल्लाहरूमा परिचालन हुन्छ, यो सब प्रक्रिया पुर्‍याउँदा अझ एक हप्ता लाग्न सक्छ ।

वीरगञ्जस्थित कृषि सामाग्री कम्पनि लिमिटेडको प्रादेशीक कार्यालयले मधेस प्रदेश सहित काठमाण्डौ, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहु, पर्वत, नुवाकोट, कास्कीलगायत १६ जिल्लामा रासायनिक मलको आपूर्ति गर्दै आएको छ । कार्यालय प्रमुख चौलागाईंका अनुसार ओमानबाट अहिले खरिद गरि आयात भइरहेको ३० हजार युरिया मलमध्ये मधेस प्रदेशमा ८ हजार ५ सय वितरण गरिनेछ । पर्साका लागि भने ८ सय ५० अर्थात् (१७ हजार बोरा ) र बाराका लागि १ हजार (२० हजार बोरा) युरिया वितरण गरिने चौलागाईंले जानकारी दिए ।

चौलागाईंका अनुसार वीरगन्जस्थित कम्पनिको गोदाममा अहिले युरिया मलको मौज्दात शुन्य रहेको छ । यस्तै डिएपी मल भने ८ सय ३१ मेटन र पोटास मल १ हजार ५ सय ९७ मेटन मौज्दात रहेको चौलागाँइले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार