Nic Ad Nic Ad
Nic Ad Nic Ad

हिन्दु राष्ट्र: सिद्धान्त र प्रयोग

बिहीबार, मंसिर ८, २०७९
भारतको विभाजन धर्मको आधारमा भएको थियो । पाकिस्तान इस्लामिक राष्ट्र भयो, त्यही भारतका नेताहरुले धर्मनिरपेक्षको बाटो रोजे । तर स्वतन्त्रताको ७५ वर्षपछि एक वर्गले धर्मनिरपेक्ष शब्दलाई अपमानजनक शब्दको रूपमा प्रयोग गर्न थालेका छन् किनभने उनीहरूका अनुसार भारत एक ‘हिन्दु राष्ट्र’ हो । पछिल्लो केही समयमा सत्तासँग जोडिएका जिम्मेवार व्यक्ति र निर्वाचित जनप्रतिनिधिका यस्ता धेरै भनाईहरू टिभी च्यानलहरूमा देखिन थाल्यो, जसलाई केही वर्षअघिसम्म जनताले निजी कुराकानीमा पनि सहभागी गराउँदैन थिए । यी सबै भनाईहरूमा मुसलमानको खाना, जीवनशैली र धार्मिक गतिविधिहरूमा टिप्पणी गरिएको थियो । भारतमा हिन्दुस्तान र मुसलमानका बीच दरार स्वतन्त्रताअघि देखि नै हो, तर यो पनि सत्य हो कि स्वतन्त्रताको लडाईं दुवैले मिलेर लडेका थिए । यही दरारका कारण समय–समयमा दंगाको रुपमा दुवै समुदायबीच टकराव पनि हुने गरेको छ । यो पनि सत्य हो कि सन् २०२० को दिल्ली दंगालाई बिर्सदा पछिल्लो केही वर्षमा कानपुर–मुम्बई (१९९२), मेरठ (१९८९), भागलपुर (१९८९) र अहमदाबाद (२००२) जस्तो भीषण दंगा भएनन् । तर दुवै समुदायका बीच दरार पहिलेदेखि नै अति गहिरो हुँदै गएको देख्न सकिन्छ । जसको पछाडिको कारण दैनिक रुपमा उठाइएका यस्ता मुद्धा छन्, जसको सिधा सम्बन्ध देशका मुसलमानसँग छ । यी सबै भनाइहरू राजनीतिक तहबाट मात्रै आउँछन् भन्ने होइन, समाजका हरेक वर्गमा, सामाजिक सञ्जालमा, दलका प्रवक्तादेखि आफन्तसम्म ह्वाट्सएप समूहका आफन्तबीच हिन्दु¬–मुसलमानसँग जोडिएका मुद्धामा बहस र विवाद फैलिएको छ । कहिले धर्म–संसदको नाममा, त कहिले भड्काउने भाषण दिएर, कहिले मासु पसलको नाममा, कहिले पार्क–मलमा नमाज पढेको विषयहरुलाई लिएर, कहिले हिजाब लगाएकोमा हंगामा मच्चाएर, कहिले लाउडस्पीकरबाट अजानको मुद्दा बनाएरलगायतका कुनै न कुनै रूपमा बहस र विवाद चलिरहेको छ । यूपी चुनाव अघि, मुख्यमन्त्री योगी आदित्यनाथले ८० प्रतिशतविरुद्ध २० प्रतिशत लडाईको कुरा गरेका थिए । यद्यपि उनले पछि आफनो भनाई सच्याएर आफुले ८० र २० कुरा हिन्दु र मुस्लिम बारेमा नभएर देशभक्त र राष्ट्र विरोधी शक्तिहरूको सन्दर्भ रहेको बताएका थिए । कश्मीर र सावरकरको बारेमा चर्चित किताब लेखक अशोककुमार पाण्डे ८० प्रतिशत हिन्दुहरुलाई शक्तिशाली भएको महशुस गराएर र २० प्रतिशत मुसलमानलाई भने कमजोर बनाउने खालका मुद्धाहरु उठाएर मुस्लिमहरूलाई अलग वा पराया महसुस गराउने प्रयास गरेको बताउँछन् । पहिलो पटक विनायक दामोदर सावरकरले हिन्दुत्व शब्दलाई राजनीतिको केन्द्रमा ल्याउने प्रयासका रूपमा हिन्दुत्व शब्दलाई जोड दिएका थिए, यसअघि हिन्दुत्व शब्दको प्रयोग भएको थिएन । सन् १९२३ मा पहिलो पटक प्रकाशित उनको पुस्तक ‘हिन्दुत्वको अनिवार्य’ मा दुई राष्ट्रवादको तर्कलाई अगाडि बढाएर उनले हिन्दु र मुस्लिम एकअर्काबाट आधारभूत रूपमा भिन्न छन् भनी प्रमाणित गर्ने प्रयास गरेका थिए । सावरकरले भारत हिन्दुहरूको पितृभूमि र पवित्र भूमि रहेको तर भारत, मुस्लिम र ईसाईहरूको पवित्र भूमि नभएको कारण उनीहरूका तीर्थस्थलहरू भारत बाहिर भएकाले उनीहरूको देशप्रतिको भक्ति विभाजित भएको बताए । कतिपय इतिहासकारहरुले आरएसएसको ‘हिन्दु राष्ट्र’ र सावरकरको ‘हिन्दु राष्ट्र’ एउटै होइनन् भन्ने गर्दछन् । ‘हिन्दु राष्ट्र’ को अवधारणा पछाडि आरएसएसको सोच के छ, यसको विस्तृत विवरण आरएसएसका संस्थापक डा केशव बलिराम हेडगेवारको जीवनीमा पाइन्छ । सन् १९२५ भन्दा तीन चार वर्ष अगाडिदेखि नै नागपुरको वातावरणमा हिन्दु–मुस्लिम द्वन्द्व सामान्य थियो । यसको उल्लेख आरएसएसको वेबसाइटमा रहेको ‘नागपुर दंगा स्टोरी’ मा पाइन्छ । आज भारतका हिन्दुहरूको एक वर्गले सार्वजनिक रूपमा आफ्नो हिन्दुत्वको प्रदर्शन गरिरहेका छन्, तर यो नौलो भने होइन । विश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय कार्यकारी अध्यक्ष आलोक कुमारले बीबीसीसँगको कुराकानीमा भने, ‘हिन्दु राष्ट्रको अवधारणा सांस्कृतिक हो, कुनै राज्यको होइन । वीएचपी भारतमा हिन्दु वा मुस्लिमहरूको राज्य होस् भन्ने चाहँदैन ।’ आलोक कुमारको यो भनाइलाई उडुपीमा हिजाब लगाएको मुस्कान, खरगोनकी हसिना फखरु, जहाँगीरपुरीको साहिबा वा प्रयागराजमा जावेदकी छोरीको डरसँग जोड्दा ‘समावेशी’ हिन्दुको विचार के हो भन्ने प्रश्न उठ्छ । विगत एक वर्षदेखि भारतको कुनै न कुनै सहरबाट हरेक महिना यस्ता समाचार आउने गरेका छन् । यी सबै घटनाको नतिजा हिन्दु–मुस्लिमबीच बढ्दै गएको विखण्डन हो । राष्ट्रिय स्वयंसेवक संघ विश्वको सबैभन्दा ठूलो गैर–सरकारी संस्था हो, वीएचपी यसको सहायक संस्था हो र भारतको वर्तमान सरकारका प्रमुख नरेन्द्र मोदीलगायत धेरै मन्त्रीहरू आरएसएससँग सम्बन्धित छन् । जसका कारण बीजेपी सरकारले यी दुई संगठनको सांस्कृतिक महत्वाकांक्षालाई राजनीतिक रूपले अघि बढाएको आरोप लागेको छ । ‘हिन्दु राष्ट्र’ र ‘हिन्दु पहिचान’ जोडेर देशमा जे भइरहेका छन्, त्यसको संरक्षण भारत सरकार र संघ दुवैबाट हुने विश्वास गरिन्छ । त्यस्तै पहिलो धर्म संसदको बारेमा निलाञ्जन मुखोपाध्यायको पुस्तक ‘डेमोलिसन एन्ड द वर्डिक्ट’ मा लेखेको छ । धर्म संसदको इतिहास हेर्दा पहिलो पटक सन् १९८१ मा यस्तो उल्लेख भएको पाइन्छ । सन् १९८१ मा तमिलनाडुको मीनाक्षीपुरमका २०० दलित परिवारले फेब्रुअरी महिनामा सामूहिक रूपमा इस्लाम धर्म स्वीकार गरे । यस वर्ष विश्व हिन्दु परिषदका नेताहरूले केन्द्रीय गाइड बोर्ड स्थापना गरे, जसमा हिन्दु धर्मका ३९ धार्मिक नेताहरू समावेश थिए । पछि वीएचपीले यो सर्कल विस्तार गर्यो, जसको पहिलो बैठक दुई वर्ष पछि भयो र यसलाई ’धर्म–संसद’ नाम दिइएको थियो । साल १९८३ मा, वीएचपीले अयोध्या आन्दोलनको लगाम आफ्नै हातमा लियो । सन् १९८४ सम्ममा केन्द्रीय मार्गदर्शक मण्डलको सदस्य संख्या २०० को नजिक पुगेको थियो । यस धर्म संसदमा रामजन्मभूमि आन्दोलन सुरु गर्ने निर्णय गरिएको थियो । यसपछि ३१ अक्टोबरदेखि १ नोभेम्बर १९८५ सम्म उडुपीमा दोस्रो धर्म संसदको आयोजना गरियो । वीएचपीले २००७ सम्ममा ११ धर्म संसदहरू आयोजना गर्यो । त्यसयता यी धार्मिक संसदमा उत्तेजक भाषण दिने क्रम केही रोकिएको थियो । त्यसपछि धर्म संसदको विषय फेब्रुअरी २०१९ मा मात्र सुनिएको थियो, जब वीएचपीको अन्तिम धर्म संसद आयोजना भयो । यसमा आरएसएस प्रमुख मोहन भागवत पनि गएर राम मन्दिर बनाउने कुरा गरेका थिए । बीबीसीसँगको कुराकानीमा निलाञ्जनले यी प्रतीकहरू र उनीहरूले दिने सन्देशहरूबारे पनि कुरा गरेका छन् । उनी भन्छन्, ‘नयाँ प्रतीकहरू बनाइँदैछ जसलाई हिन्दुहरूको एक वर्गले मन पराइरहेको छ । ती प्रतीकहरू गाई, वन्दे मारतरम, मन्दिर, लाउडस्पीकर आदि हुन् ।’ त्यसैगरी आजको मितिमा बुलडोजर शक्तिशाली शासनको पर्यायवाची बनेको छ, अहिले हामीसँग सत्ता छ र शक्तिको प्रयोगका लागि कुनै कानुनको सहारा चाहिँदैन भन्ने सन्देश दिइँदैछ । भारतमा अहिलेसम्म खानेकुराहरुमा लडाइ गाईको मासुमा मात्र सीमित थियो । हिन्दुहरूले गाईलाई पूजनीय मान्छन् र यसै कारण अधिकांश राज्यहरूमा गाईको हत्यामा प्रतिबन्ध लगाइएको छ । भारतको ८० प्रतिशतभन्दा बढी जनसंख्या हिन्दु छन्, धेरैजसो मानिसहरूले गाईलाई सम्मान गर्छन् । तर, मासु प्रतिबन्धको विवादमा आलोक कुमार भन्छन्, “मासु प्रतिबन्धको बारेमा विश्व हिन्दु परिषदको कुनै अडान छैन । मलाई थाहा छ काश्मिरका सबै ब्राह्मणहरूले मासु खान्छन् र देशको अधिकांश जनसंख्या मासु खाने हो । त्यस्तै यदि भारत साँच्चै सांस्कृतिक रूपमा हिन्दु राष्ट्र हो र धर्मको आधारमा होइन भने, मुस्कान, हसिना फखरु र जावेदलाई यी डर र गर्व का प्रतीकहरूबाट सुरक्षित महसुस गराउन देशका हिन्दुहरूले के गर्नुपर्छ यसको जवाफमा आलोक कुमार सबैभन्दा पहिले भारतका मुस्लिमहरू सुरक्षित रहेको विश्वास रहेको र यदि छैनन् भने, त्यो मुस्लिमहरूलाई भोट बैंक मान्नेहरूको कारणले हो । जुन दिन धर्मसँग जोडिएको चुनाव हुन बन्द हुन्छ । त्यो दिन हिन्दु भोट बैंक बन्द हुनेछ । तर प्रश्न यो छ, कि पहिले के बन्द हुनेछ, र कसले बन्द गर्दछ ? बीबीसी
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०५:५९
प्रतिक्रिया दिनुहोस्