क्राइमियाको स्वतन्त्रतासँगै युद्ध सकिन्छ : जेलेन्स्की
किभ - युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको युद्ध क्राइमियाबाट सुरु भएको र यसको स्वतन्त्रतासँगै अन्त्य हुनुपर्ने बताएका छन् । क्राइमियाको एउटा रुसी वायु सैनिक अखडामा भएका श्रंखलाबद्ध विस्फोटनसँगै उनको यस्तो भनाइ आएको हो । विस्फोटनमा एक जनाको ज्यान गएको थियो । मंगलबारको सो विस्फोटबारे केही उल्लेख नगरिकन जेलेन्स्कीले भने, ‘क्राइमिया युक्रेनीहरूको हो, हामी यसलाई कहिल्यै त्याग्ने छैनौं ।’
रुसको रक्षा मन्त्रालयले सो अखडामा बम विस्फोट भएको जनाएको छ । यसैगरी युक्रेनले ती विस्फोटमा आफ्नो कुनै हात नभएको दाबी गरेको छ । युक्रेनी अधिकारीहरूले केन्द्रीय निप्रोपेत्रोभ्स्क क्षेत्र र जापोरिझ्याका दक्षिण भागमा मंगलबार राति भएको रुसी आक्रमणमा १३ जना मानिसको ज्यान गएको जनाएका छन् ।
क्राइमिया युक्रेनकै भू-भाग हो भन्नेबारे अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । तर, ब्ल्याक सीको प्रायद्वीपको रूपमा रहेको क्राइमियालाई सन् २०१४ मा रुसले कब्जा गरेको थियो । क्राइमियालाइ औपचारिक रूपमा आफ्नो भू-भाग घोषणा गर्ने उद्देश्यले रुसले त्यतिबेला त्यहाँ आयोजना गरेको जनमत संग्रहलाई अन्तर्राष्ट्रिय समुदायले अवैध ठहर गरेको थियो ।
मंगलबार क्राइमियाको पश्चिम भागमा पर्ने रुसी पर्यटकहरूमा निकै लोकप्रिय तटीय रिसोर्ट नजिकको नोभोफेदोरिभ्का नजिकको साकी सैनिक अखडामा थुप्रै विस्फोटन भएका हुन् । प्रत्यक्षदर्शीहरूले कम्तीमा १२ वटा विस्फोटन भएको बताएका छन् । बीबीसीबाट