Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली चियामा प्रतिबन्ध लगाउने भारतको तयारीप्रति चिया उद्योगीको आपत्ति

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–भारतले नेपाली चियामा प्रतिबन्ध लगाउन तयारी गरेपछि नेपालको चिया उद्योगीहरुले आपत्ति जनाएका छन् । नेपाली चियाको प्रमुख बजार भारत भएको हुँदा हाल नेपालबाट ९५ प्रतिशत चिया भारतीय बजारमा शतप्रतिशत छुटका साथ निर्यात हुँदै आइरहेको छ । तर भारतले हाल कुनै जानकारी नदिई भारतीय चिया निकायले वाणिज्य सन्धि विपरित नेपाली चिया गुणस्तरहीन भएको र न्यून मूल्यको चिया मात्रै भारतीय बजार आइपुग्ने गरेको भन्दै नेपालको चियालाई करको दायरामा ल्याउने प्रस्ताव प्रति ध्यानाकर्षण भएको चिया उद्योगीहरुले बताएका छन् । रिपोर्टस क्लबमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सुर्योदय टि प्रोड्युसर्स एशोसिएसनका कोषध्यक्ष महेश अर्यलले भारतले नेपाली चियाको विषयमा लगाएको आरोप गलत रहेको बताए । उनका अनुसार नेपालको चिया भारतलगायत विश्वका अन्य विभिन्न मुलुमा समेत पठाउने गरेको तर हालसम्म गुणस्तरणमा प्रश्न नउठाएकोमा आफुहरुको गम्भिर आपत्ति रहेको बताए । त्यस्तै भारतको यस प्रकारको कदमले नेपाल र भारत बिचको सम्बन्धमा थप दरार आउन सक्ने समेत उनले दाबी गरेका छन् । हाल नेपालमा वर्षेनी करिब ३ करोड ६० लाख केजी हरियो पत्ति उत्पादन हुँदै आएको छ । घरेलु तथा साना, मझौला र ठुला गरी हाल १५० भन्दा बढि उद्योगहरु सञ्चालनमा रहेका छन् । जसबाट प्रत्यक्ष रुपमा ८० हजार र अप्रत्यक्ष रुपमा १ लाखको हाराहारीमा मानिसहरुले रोजगार पाइरहेका छन् । त्यसकारण हाल चिया उद्योग र उद्योगीको लागी मात्र नभएर त्यहाँ कार्यरत कामदार र त्यसबाट सरकारलाई हुने फाइदालाई समेत मध्यनजर गर्दै सरकारले जति सक्दो चाँडो यस समस्याको समाधानतर्फ ध्यान दिनुपर्ने उनीहरुको भाग रहेको छ । नेपाली चिया आयातलाई सुरूमा प्रतिबन्ध लगाउने प्रस्ताव अहिले भारतीय संसदका दुवै सदनमा पुगेको छ । राज्यसभा र लोकसभामा पुगेको उक्त प्रस्ताव पारित भए नेपाली चियाले आफ्नो मुख्य अन्तर्राष्ट्रिय बजार गुमाउने निश्चित छ । भारतीय संसदको राज्यसभा अन्तर्गतको ‘डिपार्टमेन्ट रिलेटेड स्ट्यान्डिङ कमिटी अन कमर्स’ ले तयार पारेको प्रतिवेदनको १७१ नम्बर बुँदामा नेपाली चियालाई आयात प्रतिबन्ध लगाउने कुरा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:४१
प्रतिक्रिया दिनुहोस्