लागूऔषध तस्करीमा अन्तर्राष्ट्रिय गिरोहको दबदबा
काठमाडौँ – विश्वव्यापी नै समस्याको रुपमा देखिएको लागूऔषध कारोबार नेपालमा पनि जटिल समस्या बनेको छ । जसले विकास र शान्ति सुरक्षामा समेत नकारात्मक प्रभाव परिरहेको छ । लागूऔषध अवैध ओसारपसार नियन्त्रण गर्न कानुन कार्यान्वयन गर्ने निकायहरू क्रियाशील रहेपनि अन्तर्राष्ट्रिय रुपमा सङ्गठित र सक्रिय गिरोहको सञ्जालले गर्दा नियन्त्रण कार्य झन् चुनौतिपूर्ण बन्दै गएको छ ।
नेपालमा लागूऔषध ओसार पसार आरोपमा पटकपटक पक्राउ परेका विदेशीको तथ्याङ्कले पनि लागूऔषध कारोबारमा अन्तर्राष्ट्रिय सञ्जाल ब्यापक रुपमा प्रयोग भएको छ भन्ने कुरा पुष्टि गर्छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७४/७५ यता ५ वर्षको अवधिमा मात्र लागूऔषध ओसार पसार आरोपमा ८४९ जना विदेशी नागरिक पक्राउ परेका छन् ।
ब्युरोका एसएसपी विकासराज खनालका अनुसार पक्राउ पर्नेमा भारत, पाकिस्तान, चीन, मलेसिया, सोमालिया, बोलिभिया, पोल्याण्ड, टर्की रसिया लगायत देशका नागरिक रहेका छन् ।
कहिले कति विदेशी पक्राउ
आर्थिक वर्ष २०७४/७५ १५९ जना
आर्थिक वर्ष २०७५/७६ १९५ जना
आर्थिक वर्ष २०७६/७७ १५७ जना
आर्थिक वर्ष २०७७/७८ १४७ जना
आर्थिक वर्ष २०७८/७९ १९१ जना (जेठ मसान्त सम्म)
जम्मा ८४९ जना
स्रोत: नेपाल प्रहरी, लागूऔषध नियन्त्रण ब्यूरो
लागूऔषध नियन्त्रण ब्युरोका अनुसार प्रहरीले गत आर्थिक वर्ष २०७८/७९ मा मात्र १ अर्ब ७६ करोड ६७ लाख भन्दा बढी मूल्य बराबरको लागूऔषध बरामद गरेको छ । ब्युरोले आर्थिक वर्ष २०७५/७६ यता ४ वर्षको अवधिमा ३ अर्ब ६७ करोड ४८ लाख बढी मूल्यको लागूऔषध बरामद गरेको छ ।
कहाँबाट आउँछ अनि कहाँ जान्छ ?
अनुसन्धान अनुसार लागूऔषध तस्करी बजारमा निकै चर्चा चल्ने अफिम र हेरोइनको खेती मुख्य गरी अफगानिस्तान, पाकिस्तान र इरानमा हुन्छ । त्यस्तै, थाइल्यान्ड, बर्मा र लाओसको सीमा क्षेत्रमा पनि यसको उत्पादन हुन्छ । यसबाहेक भारत नेपालका केही भू–भागमासमेत अफिम खेती हुँदै विज्ञहरू बताउँछन् ।
त्यसैगरी कोकिन दक्षिण अमेरिकी देशहरू बोलिभिया, कोलम्बिया, पेरुमा उत्पादन हुन्छ । कोकिन कोकको पातलाई प्रशोधन गरेर तयार गरिन्छ । कोकिन एकदमै महँगो पर्ने भएकाले धनी राष्ट्रहरूमा तस्करी हुने र धनाढ्य वर्गले प्रयोग गर्दछन् ।
नेपालमा रहेका दुर्व्यसनीहरूको प्रयोग गर्ने भनेको सेतो हेरोइन, कच्चा खैरो ब्राउन सुगर, गाँजा, चरेस, भाङ, निट्राजेपाम, नाइट्रोसन, कोरेक्स, डाइजेपाम, मर्फिन, मेथाडोन र अन्य मनोदीपक सब्सटान्सहरू एम्फेटामिन, मेथाफेटामिन, एक्सटेसीलगायत नै हो । यी मध्य गाँजा र भाङ नेपालमै उत्पादन भएपनि बाँकी सबै भारतबाट नेपाल भित्रन्छ ।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लका अनुसार, नेपालका लागूऔषध उत्पादन कमै मात्रामा हुन्छ । विदेशमा उत्पादन भएको लागूऔषध नेपालको बाटो हुँदै तस्करी हुने गरेको छ । मल्ल भन्छन्, ‘हामीकहाँ लुकिछीपी रुपमा लागूऔषध गाँजा र अफिम उत्पादन हुन्छ । त्यो भारत या चीनका बजारमा पुग्छ । तर नेपालमा उत्पादन हुने लागूऔषध ठूलो परिमाणमा भने हुँदैन । नेपालको भूमी भने लागूऔषध कारोबारीहरुले ओसार पसारका लािग प्रयोग गरिहेका छन् ।’
पूर्वडीआईजी मल्लका अनुसार अफगानिस्तान, पाकिस्तान, सिरिया, इराक, यमन त्यसैगरी अफ्रिकाका देशहरू लिबिया, सुडान, सोमालिया, माली, कंगोलगाएत देशमा भइरहेको गृहयुद्धमा आतंकवाद गतिविधिको लागि हातहतियार खरिदका लागि हेरोइनको व्यापार आर्थिक स्रोत हो ।
मल्ल भन्छन्, ‘लागुऔषधको तस्करीबापत आएको रकम गलत कार्यहरुमा दुरुपयोग भइरहेको छ । यसले अपराधलाई पनि बढावा दिएको छ ।’ मल्लका अनुसार विशेष गरी युवा वर्गलाई लागुऔषधको लतमा फसाएर विधिको शासनमा दबाब, आतंकवादका लागि खर्च, सत्ता परिवर्तन गर्न, भ्रष्टाचारी संस्कारलाई बढावा दिनेलगाएत आपराधिक घटना लागूऔषध तस्करी सँग जोडिएका छन् ।
तस्करीको ट्रान्जिट प्वाइन्ट बन्यो नेपाल
लागूऔषध ओसारपसारका लागि तस्करहरुले नेपाललाई ट्रान्जिट बनाएको विश्लेषकहरुको ठहर छ । पूर्वडीआईजी हेमन्त मल्लका अनुसार, खुला सिमानका कारण नेपाल र भारतको स्थलमार्ग हुँदै ठूलो परिणामका लागूऔषध ओसारपसार हुने गर्दछ ।
भारतबाट ब्राउन सुगर, औषधीजन्य लागूऔषध, हेरोइन कोकिनलगायतका लागूऔषध नेपाल आउँछन् । अनि, नेपालबाट गाँजा, चरेश र अफिम ठूलो परिमाणमा भारत तर्फ तस्करी हुन्छ । मल्लका अनुसार, अहिलेसम्म अन्तर्राष्ट्रिय तस्करहरुले काठमाडौंलाई नै ट्रान्जिट प्वाइन्ट बनाएका छन् ।
दक्षिण एसियामा उत्पादन हुने आधिकांश लागूऔषध भारतबाट काठमाडौंको बाटो हुँदै यूरोप र अमेरिकी पुग्ने गरेको छ । कोकिनको तस्करी दक्षिण अमेरिकाबाट मेक्सिको हुँदै उत्तर अमेरिका र कोलम्बियाबाट युरोपमा हुने गरेको छ । तर, पछिल्ला वर्षहरुमा तस्करहरुले कोकीन तस्करीका लागि नेपाललाई समेत ट्रान्जिट बनाएको भेटिएको छ ।
यो पनि,
लागूऔषध उत्पादनको अखडा बन्दै नेपालस् लगानी तस्करको, खेती कृषकको
नेपालमा औषधीजन्य लागूऔषधको प्रयोग बढ्दो, यी हुन् कारोबारका मुख्य ५ हब
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:३५
प्रतिक्रिया दिनुहोस्