Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनैपूर्णिमा: स्वयम्भुमा दर्शनार्थीको चलहपहल (फोटोफिचर)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ–आज जनैपूर्णिमा अर्थात् वण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी हो। आजैको दिन सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जसले गर्दा अत्यन्त बलवान दानवराज बली बाँधिए। त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा आज रक्षाबन्धन पनि बाध्ने गरिन्छ । यो परम्परा परापुर्वकालदेखिने चलिआएको हो। जीवन रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको डोरोलाइ वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण र पुरोहितहरुले नाडीमा बाँधिदिने गरिन्छ । तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । बौद्ध धर्मावलम्बीले भने आजको दिनलाई भगवान् गौतमबुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्दछन् भने बौद्ध धर्मग्रन्थ ललितविस्तरमा यससम्बन्धी विस्तृत रुपमा व्याख्या समेत गरिएको छ । आज स्वयम्भूमा पनि विशेष मेला लाग्ने गर्दछ । यस्तै नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् । विशेषगरी आजको दिनमा मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गर्छन् र एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता छ । आजको दिन काठमाडौंको पशुपति,स्वयम्भु र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा मेला लाग्छ ।आजकै दिन तागाधारीहरुले आफ्नो जनै फेर्छन् । तागाधारीहरुले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्