फ्रिजको पानी, धेरै छन् हानी
गर्मीको महिना लागेपछि हामी मध्ये अधिकांशले फ्रिजको पानी सेवन गर्ने गरेका छौ। गर्मीमा शीतलता प्रदान गर्ने भएकाले धेरैले फ्रिजको पानी पिउने गरेका छन् तर फ्रिजको चिसो पानीले शीतलता त दिन्छ नै साथै अनेकौँ स्वास्थ्य समस्याहरू पनि दिएर जाने गर्दछ। यसर्थ चिसो पानी पिउनु पूर्व यसले गर्ने निम्न लिखित हानीहरूको विषयमा पनि जान्न आवश्यक छ।
के के छन् हानी
१ पाचन समस्या: चिसो पानीको सेवनले तपाईंको पाचन क्रियालाई प्रभावित गर्न सक्दछ। चिसो पानी वा कोल्ड ड्रिंक्सको सेवन गर्दा चिसोको कारणले पेटका रक्तनलीहरू संकुचित हुने र पाचनको लागि आवश्यक पाचन रसको उत्सर्जन गर्न र पाचन पश्चात उत्पादित पोषक तत्त्वहरूको अवशोषण पनि राम्ररी हुन सक्दैन। फलतः पाचनक्रिया नराम्ररी प्रभावित हुने गर्दछ।
यसैगरी पाचन इन्जाइमहरू उत्कृष्ट कार्यका लागि आवश्यक पर्ने उपयुक्त तापक्रम पनि चिसो पानीको सेवन पश्चात घट्ने हुँदा इन्जाइमहरू निष्क्रिय भई पाचन प्रभावित हुने गर्दछ। यसै चिसो पानीको सेवन पश्चात घटेको तापक्रमलाई सन्तुलित गर्नका लागि शरीरले अतिरिक्त उर्जा खर्च गर्नुपर्ने हुन्छ जसको कारणले पनि पाचन प्रभावित हुने गर्दछ। यी सबै कुराहरू हुँदा अपच, अजीर्ण, कब्जियत, आँउ र पायल्स जस्ता समस्याहरू देखापर्दछ।
२. हृदयगति कमहुने: चिसो पानीको सेवन पश्चात चिसोका कारण पेटको स्नायु आपुर्ति गर्ने भेगस नर्भ उत्तेजित हुन पुग्दछ। भेगस नाडी उत्तेजित हुँदा हृदयगति कमहुने र हृदयको कार्यक्षमता पनि घट्दछ।
३. शक लाग्न सक्छ: कडा परिश्रम पश्चात चिसो पानीको सेवन गर्दा हामीलाई सर्कुलेटरी शक लाग्न सक्छ। यसर्थ कडा परिश्रम तुरुन्त पश्चात पानी पिउन र त्यसमा पनि चिसो पानी पिउन सर्वथा बर्जित गरिएको छ।
कडा श्रम पश्चात चिसो पानी पिउँदा शरीरले परिश्रमका क्रममा उत्पादन गरिरहेको उष्मालाई चिसो पानीले तत्काल रोकिदिने हुँदा शक लाग्न सक्दछ। यसैगरी श्रमका बेलामा पिइएको पानीलाई शरीरले तत्काल अवशोषण पनि गर्न सक्दैन फलतः: पेट दुख्ने पखाला लाग्ने र शकको अवस्था समेत आउन सक्दछ।
४. तौल बढाउने: चिसो पानीको सेवनले शरीरको मेटाबोलिजमलाई पनि प्रभावित बनाउने गर्दछ। फलत: बोसो पग्लिने क्रिया प्रभावित हुन जाँदा तौल बढ्ने र भुँडी लाग्ने जस्ता समस्या देखापर्ने गर्दछ।
५. प्रतिरक्षा प्रणालीलाई कमजोर पार्ने: चिसो पानीको सेवनले हाम्रो प्रतिरक्षा प्रणालीलाई समेत प्रभावित पार्ने हुदाँ हामीलाई रुघा लाग्ने, गला बस्ने, खोकी लाग्ने र दम बढ्ने जस्ता समस्याहरू देखापर्ने गर्दछ।
६. रोगको लक्षणहरू बढाउने: चिसो पानीको सेवनले एकालेसिया, दम, खोकी, र माइग्रेन जस्ता समस्याको लक्षणहरूलाई बढाउने गर्दछ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०८
प्रतिक्रिया दिनुहोस्