प्रतिनिधि सभाको बैठक बस्दै, राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराइने
काठमाडौँ– आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्नेछ।
आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएको विषयमा जानकारी गराइने सम्भावित कार्यसूची रहेको छ।
गत साउन १० गते प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक उनले आइतबार सदनसमक्ष नै फिर्ता गरेकी थिइन्।
यसैगरी, बैठकमा अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गर्ने, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ लाई पारितका लागि प्रस्तुत गर्ने छ।
स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक दफावार छलफलका लागि प्रस्ताव गर्ने र मंगलबार नै पारितका लागि प्रस्ताव गर्ने, प्रत्यायन विधेयकमाथिको दफावार छलफल र पारितका लागि सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:३२
प्रतिक्रिया दिनुहोस्