राजु श्रीवास्तवको स्वास्थ्य पुनः नाजुक
मुम्बई–भारतीय कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य अवस्था पुनः बिग्रिएको छ । चिकित्सकका अनुसार उनको अवस्था निकै नाजुक बनेको छ । राजुको दिल्लीको एम्स अस्पतालमा उपचार भइरहेको छ ।
राजुलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो । सुरुवाती दिनमा उनको स्वास्थ्य खराब भए पनि केही दिन यता आंशिक सुधार भइरहेको थियो ।
अहिले पुनः उनको स्वास्थ्यमा समस्या देखिएको छ । हृदयघात भएदेखि उनलाई होस आउन सकेको छैन ।
केहीदिन अघि उनलाई हल्का ज्वरो आएको थियो । डाक्टरले पुनः ज्वरो आउने सम्भावना रहेको भन्दै त्यस्तो अवस्था नआउनका लागि औषधि दिइरहेका छन् । डाक्टरले उनलाई ज्वरो आउनु शरीरले सामान्य व्यवहार गरेको ठानेका छन् ।
डाक्टरका अनुसार उनको हर्ट एयर पल्सले सामान्य काम गरिरहे पनि दिमागको एक हिस्सामा चोट देखिएको छ । यो चोट दिमागमा अक्सिजन नपुग्दा देखिएको बताइएको छ ।
उनको गत शुक्रबार एमआरआई गरिएको थियो । एमआरआईको रिपोर्टमा उनको दिमागमा केही धब्बा देखिएको थियो । त्यही धब्बालाई डाक्टरले चोट भनेका छन् ।
–एबीपी लाइभ
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:०९
प्रतिक्रिया दिनुहोस्