देउवा र ठाकुरबीच भेटवार्ता, गठबन्धनमा सहभागी हुनेबारे शुक्रबार टुङ्गो लाग्ने
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुका बीचमा भेटवार्ता भएको हो ।
भेटमा नागरिकता विधेयक, सरकार र चुनावी गठबन्धनका विषयमा छलफल भएको बताइएको छ । लोसपाका नेता केशव झाले प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच चुनावी गठबन्धनका विषयमा छलफल भएको जानकारी दिए । उनले शुक्रबार फेरि दुवै नेताका बीचमा थप छलफल हुने जानकारी दिएका छन् ।
‘गठबन्धनबारे छलफल भएको हो,’ झाले भने, ‘आजको छलफल निष्कर्षमा पुगेन । सदन भएकाले चाँडै निस्कुन पर्यो । भोलि फेरि छलफल हुन्छ ।’ प्रधानमन्त्री देउवासँगको भेटमा अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतोसहितका नेताहरू सहभागी थिए ।
देउवाले मधेश प्रदेशमा कांग्रेसलाई बलियो बनाउने रणनीतिसहित लोसपालाई गठबन्धनमा ल्याउने कोशिस गरेका छन् । पाँच दलीय गठबन्धनले उपगठबन्धन बनाउन पनि दलहरुलाई खुला छाडेपछि कांग्रेसले मधेशमा लोसपासँग मात्रै गठबन्धन गरेर जाने अर्को रणनीति पनि बनाइरहेको बेला दुई नेताबीच छलफल भएको हो । तर लोसपाले गठबन्धनमा जानेबारेमा केही निणर्य गरेको छैन । उसले मधेश आन्दोलन र नागरिकतासहितका मुद्दाबारे आफूहरुका माग पूरा हुनुपर्ने अडान राखिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:४१
प्रतिक्रिया दिनुहोस्