Nic Ad Nic Ad
Nic Ad Nic Ad

महोत्तरीमा सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका लागू  

बिहीबार, मंसिर ८, २०७९
बर्दिबास– महोत्तरीको बर्दिबासस्थित यातायात व्यवस्था सेवा कार्यालयले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ लागू गरेको छ । मधेस प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले परिपत्र गरेपछि यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासले निर्देशिका लागू गरेको हो । भदौ १ गतेदेखि उक्त निर्देशिका कार्यान्वयनमा ल्याएको यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासका प्रमुख पोषण थापाले जानकारी दिनुभयो । ट्रायल परीक्षामा अब ७० नम्बर ल्याए पास हुने उहाँले बताउनुभयो । “पहिला सामान्य सामान्य त्रुटि हुँदा पनि फेल गरिन्थ्यो । अब केही अवसर मिलेको छ । त्यस्तो सानातिना कुराबाट सेवाग्राही मुक्ति पाएका छन् । अहिले सबै सेवाग्राही सन्तुष्ट हुनुहुन्छ”,  प्रमुख थापाले भन्नुभयो । नयाँ निर्देशिका लागू भएपछि ८० नम्बर ल्याएर उत्तीर्ण हुनुभएका सर्लाही हरिवनका सुलभ सिंह भन्नुहुन्छ, “धन्न ७० प्रतिशतको व्यवस्थाले लागू भएछ र पास भए ।” हरिवनकै स्वेक्षा निरौलाले ७० प्रतिशत ल्याएर उत्तीर्ण हुने प्रावधानले परीक्षार्थीमा गर्न सक्छु भन्ने हौसला पलाएको बताउनुभयो । “यो व्यवस्थाले सेवाग्राहीमा हौसला बढेको छ । यसले गर्दा अब बढीको सङ्ख्यामा ट्रायल पास हुन्छ कि जस्तो लागेको छ”, उहाँले भन्नुभयो । सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ कार्यान्वयनमा आएपछि ट्रायल परीक्षा विगतभन्दा लचिलो भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका प्रहरी निरीक्षक उदय सिंह सिद्धपतिले बताउनुभयो । यो व्यवस्थाले सेवाग्राहीलाई केही सहज हुने उहाँको बुझाई छ । साउन ३० गते भौतिक पूर्वाधार विकास मन्त्रालय मधेस प्रदेश सरकारले बर्दिबास यातायात कार्यालयलाई भदौ ७ गतेसम्म उक्त निर्देशिका लागू गर्न परिपत्र गरेको थियो । तर, परिपत्र गरे लगत्तै समयावधिको सुरुमै यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासले भदौ १ गते देखिनै निर्देशिका लागू गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार