जुम्लामा प्रकाशकाे वर्ल्ड प्रिमियर
काठमाडौं– फिल्म ‘प्रकाश’को आगामी आइतबार अर्थात भदौ ५ गते जुम्लामा वर्ल्ड प्रिमियर गरिने भएको छ । फिल्म आगामी शुक्रबार अर्थात भाद्र १० गतेबाट प्रदर्शनमा आउदैछ । फिल्मका निर्देशक दिनेश राउतले जुम्लाको तिर्खु गाँउमा छायांकन गरिएको यो फिल्मको सोही गाँउको मोक्ष माध्यमिक विद्यालयको प्राङगणमा वर्ल्ड प्रिमियर गर्न लागेको बताए । आइतबार हुने प्रिमियरका लागि फिल्मका लेखक विकास सुबेदीसहितको टिम शनिबार जुम्ला जाँदैछ ।
प्रायः फिल्मको वर्ल्ड प्रिमियर स्ट्याण्डर्ड हलहरुमा रेडकार्पेटका साथ गर्ने सेलिब्रटीहरुका बिच गर्ने गरिन्छ । तर, ‘प्रकाश’को प्रिमियरमा भने फिल्म हल नभएका कारण बिद्यालयमा प्रोजेक्टरको माध्यमबाट फिल्म देखाइने छ । फिल्म हेर्न स्थानिय राजनीतिक दलका प्रतिनिधी, शिक्षक, बिद्यार्थी, बिभिन्न पेशा ब्यवसायमा आवद्ध ब्यक्तिहरुका साथै सम्पूर्ण गाउँबासीलाई निम्ता दिइएको छ । जुम्लाको परिवेशमा कथा भनिएका कारण फिल्मको पहिलो दर्शकका रुपमा स्थानिय जनतालाई रोजेको निर्माण पक्षले जनाएको छ ।
निर्देशक दिनेश राउतले जुम्लाको भाषा, संस्कृति, रहन सहन, रितिरिवाजका माध्यमबाट कथा भनिएका कारण पहिलो दर्शकका रुपमा त्यहीका स्थानिय जनतालाई फिल्म देखाउन लागिएको जनाएका छन् । त्यसो त स्थानिय दर्शकहरुले फिल्म हेर्दा अपनत्व फिल गर्छन वा गर्दैनन् भन्ने कुराले फिल्म यर्थाथ सँग कति नजिक छ भन्ने कुरा पनि प्रष्ट हुनेछ ।
त्यसो त आइतबार जुम्लामा प्रिमियर गर्न लागेको फिल्मको ८ गते बुधबार काठमाडौं प्रिमियर गरिने जनाइएको छ । फिल्मले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ ।
दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । बिकास सुबेदीको लेखन रहेको फिल्म यतिबेलाको बहुप्रतिक्षित फिल्म हो ।
फिल्ममा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १९:२०
प्रतिक्रिया दिनुहोस्