गजलः मुस्कान !
मिठो मुस्कानको त अनौठो, संसार हुँदोरहेछ
मात्र एउटा मुस्कानमा अरूको, हार हुँदोरहेछ !
युद्धमा जित कसैको हुँदैन, रिसानी हित हुँदैन
मुस्काऊ प्रिय ! ओठमा रिस, बेकार हुँदोरहेछ !
ईर्ष्याले स्वयं जलाउँछ, आवेगले मन गलाउँछ
मन्द मुस्कानको महिमा, अपरम्पार हुँदोरहेछ !
नभर्नु कतै मनमा विष, आँखामा कुनै आरिस
खुशी नयनमा प्रेम-प्रवाह, लगातार हुँदोरहेछ !
सिँगारिनु व्यर्थ रैछ, जब मुहारमा द्वेष झर्दछ
केबल मुस्कान एक अमूल्य, शृङ्गार हुँदोरहेछ !
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०३:४२
प्रतिक्रिया दिनुहोस्