Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘हरेक पालिकाले प्राथमिक उपचारका बारेमा सचेतना जगाउनु पर्छ’ {तस्वीरहरु}

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ - ‘सडक छेउमा एउटा घाइते मान्छे । ट्याक्सी ड्राइभरले देख्छन् । उनी सिधै हिँडिहाल्छन् । एम्बुलेन्सलाई फोन भने गरिदिन्छन । तर, सोही घाइते मान्छेलाई अर्को ट्याक्सी ड्राइभरले देख्छन् र प्राथमिक उपचार गर्नतर्फ अग्रसर हुन्छन् । उनले प्राथमिक उपचार गर्दासम्म एम्बुलेन्स आइपुग्छ । एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याउँछन् र ती व्यक्तिको ज्यान जानबाट जोगिन्छ ।’ यो दृष्य ललितपुर महानगरपालिका र कल्पना क्राफ्टको प्रायोजनमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र ललितपुरले आयोजना गरेको ट्याक्सी ड्राइभरका लागि एक दिने प्राथमिक उपचार तालिम तथा सामग्री वक्स वितरण कार्यक्रमको हो । सडक सुरक्षामा गरिने विभिन्न कार्यक्रमहरुमध्येको एउटा कार्यक्रम थियो यो । सडक दुर्घटना परी घाइते भएकाहरुलाई एम्बुलेन्स आउनु पूर्व वा अस्पताल पुर्‍याउनु पहिला प्राथमिक उपचार गरिएको अवस्थामा कसैले अकालमा ज्यान गुमाउनु पर्दैन भन्ने उद्देश्यका साथ एक दिने तालिमको आयोजना गरिएको ग्रामीण विकास केन्द्रका अध्यक्ष शैलेन्द्र विष्टले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखा अध्यक्षलगायतको टोलीले एक दिने प्राथमिक उपचारको तालिम प्रदान गरेको थियो । केन्द्रका अध्यक्ष बिष्टले ट्याक्सी चलाएर जीविकोपार्जन गरिरहेका ड्राइभरको धेरै समय नमिल्ने भएकाले पटकपटक गरी प्राथमिक उपचारको बारेमा सचेतना जगाउन सकिने बताए । कल्पना क्राफ्टका प्रोपाइटर अमृत खड्काले ललितपुर महानगरपालिकाले उदाहरणीय काम गरेको भन्दै देशका सम्पूणर् पालिकाहरुले पनि प्राथमिक उपचारको तालिम स्थानीय सार्वजनिक यातायातका चालकलाई दिनु पर्ने जोड दिए । उनले भने, ‘एम्बुलेन्स भन्दा शुलभ पाइने ट्याक्सीको ड्राइभरलाई नै प्राथमिक उपचारको तालिम र सामग्री बक्स दिनुले सडक सुरक्षामा एक इँट्टा थपिएको छ ।’ क्यानडा नेपालसँगको छोटो कुराकानीमा नेपाल निर्यात महासंघको सचिव समेत रहेका खड्काले सडकमा हुने बत्ती, जेब्रा क्रसिङ, आकाशे पुललगायतका सुक्षायन्त्रमा प्राथमिक उपचार र त्यसको सामग्री पनि पर्ने जानकारी दिए । उनले भने, ‘मैले काठमाडौँ भित्रको उदाहरण दिएँ । यहाँ चोकचोकमा ट्याक्सी पाउँछन् । एम्बुलेन्स आउनु पूर्व नै ट्याक्सीले अस्पताल पुर्‍याउन सक्छन् । हामी ट्याक्सी ड्राइभर पनि प्राथमिक उपचारको तालिम प्राप्त भयौँ भने सजिलो हुन्छ ।’ एक दिनको मात्र भए पनि प्राथमिक उपचारको तालिम लिएपछि ट्याक्सी ड्राइभर पनि खुशी भएका छन् । ललितपुर महानगरपालिका वडा नं. २५ मा बसेर ट्याक्सी चलाउने सुरेश तामाङ आजको तालिमले आफूलाई खुशी लागेको बताउँछन् । सडकमा ट्याक्सी चलाएर हिड्दा थुप्रै दुर्घटना देखिने, आफू पनि कहिले कहीँ यस्तो अवस्थाबाट नै जानु पर्ने भएकाले प्राथमिक उपचारको तालिमले आउँदा दिनमा सहयोग हुने विश्वास लिएको उनको भनाइ छ । यस्तै, अर्का सहभागी सन्तबहादुर पनि धेरै खालका विरामीहरुलाई आफ्नो ट्याक्सीमा राखेर अस्पतालसम्म पुर्‍याएको अनुभव सुनाउँछन् । उनले आफूले बोकेका विरामीहरुलाई के कति प्राथमिक उपचारको खाँचो छ भन्ने विषयमा यस भन्दा पहिला थाहा नभएको भन्दै आउँदा दिनहरुमा आफूले पनि विरामीलाई आवश्यक प्राथमिक उपचार गर्न सक्ने जानकारी दिए । तालिमका क्रममा प्राथमिक उपचार जानेको मान्छेले अस्पताल जानबाट कसैलाई पनि रोक्न नहुने सिकेका छन् । बेहोस अवस्थामा रहेका व्यक्तिलाई गरिने प्राथमिक उपचार, कुनै वस्तु गाडिएको अवस्थामा फेला परेका व्यक्तिलाई गरिने प्राथमिक उपचार, रक्तश्राव, गलालागेको लगायतका अवस्थामा कसरी प्राथमिक उपचार गरिन्छ भन्ने बारे जानकारी गराइएको थियो । रेडक्रस काठमाडौँ स्वयम्बु शाखाका प्रमुख तथा प्रशिक्षक राजेन्द्र श्रेष्ठले आफूलाई दक्ष चिकित्सकका रुपमा परिचित नगराउन र आत्मबल खस्किने गरी कुरा नगर्न समेत सुझाएका थिए । स्थानीय श्रोत र साधनको प्रयोग गरेर अस्पताल पुर्‍याउनु पूर्वको अवस्थामा गरिने उपचारलाई प्राथमिक उपचार भन्दै श्रेष्ठले भने, ‘तपाईसँग सधै प्राथमिक उपचारको किट नहुन सक्छ । कुनै पनि मेडिकल सामग्री विना नै घाइतेको उपचार गर्नु पर्छ र त्यसका लागि स्थानीय सामग्री नै प्रयोग गर्न सक्नु पर्छ ।’ यस्तै, अर्की प्रशिक्षक मञ्जु पाण्डेले स्थानीय श्रोत र साधनको प्रयोग गर्ने नाममा पुरानो शैलीले माटो, गोबर, मनमारो लगायतका जोखिम बढाउन सक्ने खालका स्थानीय वस्तुहरुको प्रयोग नगर्न पनि आग्रह गरेकी थिइन् । तस्वीरहरु : लक्ष्मी धिमाल  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १९:१७
प्रतिक्रिया दिनुहोस्