लियोपार्ड फिजियोको तयारी शुरु
काठमाडौं - विश्व फिजियोथेरापी दिवसको अवसरमा हुन लागेको फिजियोथेरापिस्टहरूको फुटसल प्रतियोगिताको लागि लियोपार्ड फिजियोले तयारी शुरु गरेको छ ।
क्लबले शनिबार एक कार्यक्रममार्फत टिमको जर्सी, स्पोन्सर र खेलाडी सार्वजनिक गरेको हो । क्लब मालिकमा सुरज भुसाल र समिद कातिला श्रेष्ठ छन् । कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान बिराज महर्जन र विशिष्ट अतिथिमा नियो हेल्थ क्लिनिकका सूर्य कुवरको उपस्थिति थियो ।
प्रतियोगिताको लागि लियोपार्डलाई १८ वटा प्रायोजकले सहयोग गरेको छ । कार्यक्रममा बोल्दै पूर्व कप्तान बिराज महर्जनले यस्ता प्रतियोगिताहरूबाट फिजियोहरूले खेलाडीको मनोभाव बुझ्न सहयोग पुग्ने बताए ।
‘खेलाडीहरूका स्वास्थ्यका लागि महत्त्वपूणर् सहयोगीको रूपमा मैदानमा बस्नु हुने फिजियोथेरापिस्टहरूको यस्ता प्रतियोगिताबाट खेलाडीहरूको मनोभावलाई अझ गहिरिएर बुझ्न सहयोग पुग्नेमा म विश्वस्त छु । प्रतियोगिताको लागि लियोपार्ड फिजियोलाई शुभकामना दिन चाहन्छु,’ बिराजले भने ।
यस्तै, क्लबका मालिक भुसालले प्रतियोगिताको उपाधि जिते शतप्रतिशत रकम खेलाडीहरूलाई दिने र एक गोल बराबर पाँच सय रुपैयाँ प्रदान गरिने बताए । ‘हरेक खेलमा खेलाडीसँगै रहने फिजियोहरूलाई पनि मनोरञ्जन दिने हाम्रो उद्देश्य हो । हामीले प्रतियोगिताको उपाधि जितेको खण्डमा प्राप्त नगद सबै खेलाडीलाई दिनेछौँ । प्रतियोगितामा प्रत्येक गोलबापत पाँच सय रुपैयाँ दिने निणर्य गरेका छौं,’ भुसालले भने ।
भदौ २३ गते फिजियोथेरापी दिवसको अवसरमा नेपाल फिजियोथेरापी संघ (नेस्ट) आयोजना हुने प्रतियोगितामा काठमाडौंका ६ र दुई मोफसलका गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसँगै ट्रफी र मेडल पुरस्कार पाउने छन् ।
लिग कम नकआउट पद्धतिमा चल्ने प्रतियोगिताको सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:३९
प्रतिक्रिया दिनुहोस्