भारतमा बाढीमा परी १५ को मृत्यु, आठ जना बेपत्ता
काठमाडौँ - भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा शनिबार अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु हुनाका साथै अन्य आठ जना बेपत्ता भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
बेपत्ताहरुको खोजी कार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ । अविरल वर्षाले राज्यको मण्डी र चम्बा जिल्ला सबैभन्दा बढी प्रभावित भएको बताइएको छ। मण्डी जिल्लाका एक बासिन्दाले सिन्ह्वालाई फोनमा भनेका छन् - यी ठाउँहरूमा सामान्य जनजीवन अस्तव्यस्त भएको छ ।
रिपोर्टका अनुसार मण्डी जिल्लाको एउटा गाउँमा पहिरोमा परी घर भत्किँदा एकै परिवारका आठ जनाको मृत्यु भएको छ । उनीहरुको शव फेला परिरसकेको छ । सोही जिल्लामा छुट्टै बाढीमा दुई जनाको मृत्यु भएको छ भने पाँच घर डुबानमा परेका छन् । यसबाहेक चम्बा जिल्लामा पहिरोले घर भत्किँदा एक महिलासहित तीन जनाको मृत्यु भएको छ ।
बाढी र पहिरोका कारण घर भत्किने यस्ता थुप्रै घटनाहरू अन्यत्र पनि रिपोर्ट गरिएको छ जसमा कम्तीमा दुई जनाको मृत्यु भएको बताइएको छ । सो क्षेत्रहरूमा स्थानीयहरूलाई सचेत रहन आग्रह गरिएको छ। रासस/सिन्ह्वा
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:२९
प्रतिक्रिया दिनुहोस्