अलबिदा प्रदीप गिरी (तस्वीरहरु)
काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि कांग्रेस मुख्यालय सानेपा राखिएको छ । गिरीलाई श्रद्धाञ्जली दिन नेता, आफन्त तथा शुभचिन्तक अहिले पार्टी कार्यालय पुगेका छन् ।
लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित गरीको शनिबार राति ९:३० बजे उपचारका क्रममा मेडिसिटी हस्पिटलमा निधन भएको हो ।
नेपाली कांग्रेसले गिरिको निधनमा शोक प्रस्ताव पारित गरेको छ । केन्द्रीय कार्यसमितिको आइतबार बिहान आकस्मिक रुपमा बसेको बैठकले शोक प्रस्ताव पारित गरेको हो।
बैठकमा गिरिको कामको मूल्यांकन गर्दै नेताहरूले शोक व्यक्त गरेका थिए । गिरिको निधनमा पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयहरूमा ३ दिनसम्म झन्डा झुकाइने भएको छ । यस्तै १३ दिनसम्म श्रद्धाञ्जलीका विविध कार्यक्रमहरू आयोजना गरिने कांग्रेसले जानकारी दिएको छ।
गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता कार्यकर्ता पार्टी कार्यालय पुगेका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन कुमार थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), देव गुरुङ, वामदेव गौतमलगायतका नेताहरूले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
२००४ सालमा जन्मेका गिरीले सानै उमेरदेखि नेपाली कांग्रेसको राजनीति थालेका थिए। बुबा नेपाली कांग्रेस प्रतिबन्धित भएकै बेला सिरहको जिल्ला सभापति भएकाले पनि गिरीलाई राजनीतिले बेलैमा छोएको थियो । सानै उमेरमा राजनीतिलाई बुझेका गिरीले नेपाली समाज किन यसरी पछाडि पर्यो भनेर प्रश्नहरू सोध्न र तिनको उत्तर नेपाली समाजमै कतै छ भनेर खोज्न थालेको कांग्रेसका नेताहरू बताउँछन् ।
समाजवादका अध्यता रहेका गिरीले जीवनको अन्त्यसम्म पनि नेपाली समाजको समस्या र चासोबारे प्रश्न गरिरहनु भयो,’ डा विजय मिश्र भन्छन्, ‘शासकहरूलाई समाधानका सामाजिक मन्त्रहरू सिकाइरहनु भयो र नेपाली कांग्रेसलाई सहि बाटोमा हिडाउँन प्रयत्नरत गरिरहनु भयो।’
पटकपटक संसद्मा पुगेका गिरीले कहिल्यै पनि मन्त्रीको अपेक्षा गरेनन् । जिम्मेवारीमा गएपछि स्वतन्त्रता गुम्ने डर बोक्ने गिरीले कांग्रेसमा बौद्धिकताको खडेरी हुँदा जल सिजन गरिरहे । विपी कोइरालापछिका कांग्रेसका बौद्धिक नेताका रुपमा परिचित गिरीले कांग्रेसका नेता तथा कार्यकर्तालाई जहिले असल बन्न खबरदारी गरिरहे ।
भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका गिरी २०४२ सालको सत्याग्रहमा जेलमा थिए । पटक–पटक गरेर करिब ४ वर्ष जेल जीवन बिताएका उनी अध्ययनमा अद्भुत, विचारमा विलक्षण र प्रस्तुतिमा प्रस्ट रहेको कांग्रेस नेताहरुको भनाइ छ।
पिछडिएको क्षेत्र कर्णाली र पिछडा वर्ग, अल्पसंख्यकहरूलाई राज्यको मूलप्रवाहमा ल्याउन नसक्दा लोकतान्त्रिक गणतन्त्र कमजोर हुने विचार प्रवाह गरिरहेका गिरी स्वतन्त्रता, समानता र शान्तिका पक्षपाती थिए । निकै सरल र साधा जीवन बाँचेका गिरीले खद्दरको कुर्था सुरुवाल लगाएर देश घुमे । समाजशास्त्रको अध्ययन गरे, माक्र्सवाद आत्मसात् गरे र नेपालका थुप्रै माक्र्सवादीहरूलाई पढाए ।
लोकतन्त्रमा विश्वास गर्नेहरुमात्र होइनन् आज माक्र्सवादीहरुले पनि प्रदिप गिरीको निधनलाई ठूलो क्षतिको रुपमा लिएका छन् । नेपालमा समाजवादको स्थापानका लागि आवश्यक धरोहर ढलेको छ ।
लामो समय गिरीसँग संगत गरेका डा. विजय प्रसाद मिश्र नेपाली राजनीतिमा गिरीको निधनले अपुरणीय क्षति भएको बताउँछन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १२:५३
प्रतिक्रिया दिनुहोस्