प्रभु बैंकको नाफा साढे दुई अर्ब नाघ्यो, पाँच वर्षमा १६८.८७ प्रतिशत वृद्धि
काठमाडौं– प्रभु बैंक लिमिटेडको नाफा पछिल्लो पाँच वर्षयता ह्वात्तै बढेको देखिएको छ ।
पाँच वर्षको अवधिमा बैंकले नाफामा मात्र १६८.८७ प्रतिशतले वृद्धि भएको हो । बैंकका अनुसार २०७५ असार मसान्तमा बैंकको नाफा जम्मा ९६ करोड ७० लाख रुपैयाँ थियो तर गत आर्थिक वर्ष (२०७९ असार मसान्तमा) २ अर्ब ६० करोड रुपैयाँ देखिएको छ ।
पछिल्लो ५ वर्षमा बैंकले नाफा मात्र होइन प्रतिसेयरको आम्दानी समेत झन्डै शतप्रतिशतले बढेको छ । वि.सं. २०७५ सालको असार मसान्तको वित्तीय विवरणअनुसार बैंकले एक कित्ता सेयर बराबर ११ रुपैयाँ ४० पैसा मात्र फिर्ता दिन सक्ने थियो तर गत असार मसान्तसम्मको वित्तीय विवरणअनुसार यो बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ । यसलाई हेर्दा ५ वर्षमा ७९.४७ प्रतिशतले बढी हो । यसका साथ बैंकको प्रतिसेयर नेटवर्थ गत वर्षमा १५६ रुपैयाँ १६ पैसा पुगेको छ ।
पाँच वर्ष अगाडि बैंकको खराब कर्जा ३.९५ प्रतिशत रहेको थियो । तर गत असार मसान्तसम्ममा बैंकको खराव कर्जा घटेर १.२० प्रतिशतमा आएको छ । त्यस्तै बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार प्रभु बैंकले २ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको थियो ।
यसैगरी सेयरधनी सञ्चित कोषमा एक अर्ब ५७ करोड ९४ रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब ५५ करोड ७७ लाख रुपैयाँ सञ्चित गर्न बैंक सफल भएको छ, जसले बैंक बलियो रहेको र यसले ठूलो धक्कालाई पनि खेप्न सक्छ भन्ने देखाउँछ ।
गत वर्ष बैंकको वितरण योग्य नाफा १ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब २ करोड ३३ लाख रुपैयाँबाट बढेर ६ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि २ अर्ब ६० करोड ३२ लाख ७६ हजार रुपैयाँबाट बढेर ३ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने बैंकको निक्षेप १ खर्ब ७८ करोड ६५ लाख २१ हजार रुपैयाँ रहेको छ भने १ खर्ब ४५ अर्ब ९६ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
तत्कालीन समयमा बैंकको खराब कर्जा बढ्नुमा डुबेको ग्रान्ड र किष्ट बैंकको सम्पूर्ण खराब कर्जा पनि आफूमा समाहित गरेका कारण खराब कर्जा बढेको थियो । तर बैंकले खराब कर्जालाई निकै राम्रोसँग उठाएको देखिएको छ ।
गत आर्थिक वर्षको वित्तीय विवरणलाई आधार मान्दा बैंकको लिक्विडिटी रेसियो २६.६६ प्रतिशत रहेको छ, यसलाई राम्रो मानिन्छ । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार कुनै पनि बैंकको लिक्विडिटी २० प्रतिशत भन्दा कम हुनु हुँदैन ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:५०
प्रतिक्रिया दिनुहोस्