साउनमा आयात घट्यो
काठमाडौँ– चालु वर्षको पहिलो महिना साउनमा नेपालमा हुने आयात घटेको छ । यस अवधिमा १ खर्ब ३१ अर्बको सामान आयात भएको छ ।
विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि सरकारले केही वस्तुमा आयात प्रतिबन्ध लगाउँदा आयात घटेको हो ।
भन्सार विभागको तथ्याङ्क अनुसार यो महिना गत वर्षको यसै अवधिको तुलनामा १२ प्रतिशतले आयातमा कमी भएको छ । गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्बको आयात भएको थियो ।
यो महिनामा नेपालबाट हुने निर्यात पनि घटेको छ । यस अवधिमा निर्यात गत वर्षको तुलनामा २८.६८प्रतिशतले घटेको छ । गत वर्ष २० अर्ब ७६ करोडको निर्यात भएकोमा यो पटक १४ अर्ब ८० करोड बराबरको वस्तु निर्यात भएको छ ।
यसैगरी यस अवधिमा नेपालको व्यापार घाटामा १४ प्रतिशतले सुधार भएको छ । गत वर्ष १ खर्ब २९ अर्ब व्यापार घाटा रहेकोमा यो पटक १ खर्ब १६ अर्बमा झरेको छ । आयातबाट मात्रै सरकारले ३१ अर्ब ९६ करोड राजस्व सङ्कलन गरेको छ । यो महिनामा पनि आयात हुने वस्तुको सूचीमा पेट्रोलियम पदार्थ अग्रपङ्क्तिमा छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:५४
प्रतिक्रिया दिनुहोस्