ताइवानकी राष्ट्रपतिले किन दिइन् यस्तो चेतावनी ?
काठमाडौँ - ताइवानमा आक्रमणबारे त्यहाँकी राष्ट्रपति साई इङ वेनले चेतावनी दिएकी छन् । ताइवानमा आक्रमण वा आक्रमणको प्रयासले ठूलो मूल्य चुकाउनुपर्ने र अन्तर्राष्ट्रिय समुदायबाट पनि निन्दा हुने उनले बताएकी छन् ।
राष्ट्रपति साई इङ वेनले सैन्य अधिकारीहरूसँग भनिन्, ‘हामीले दुश्मनलाई बुझाउनुपर्छ कि ताइवानसँग देशको रक्षा गर्ने दृढ संकल्प र तयारी छ । ताइवानसँग आफ्नो रक्षा गर्ने क्षमता पनि छ ।’
अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन आक्रोशित भएको छ । यो भ्रमणपछि ताइवानमा तनाव उत्कर्षमा पुगेको छ । २५ वर्षको अवधिमा अमेरिकाबाट यति उच्च हैसियतका व्यक्तिले ताइवान भ्रमण गरेका थिएनन् ।
चीनले उक्त भ्रमणलाई ‘आफ्नो राष्ट्रिय सार्वभौमसत्ताको गम्भीर उल्लंघन’ भनेको छ र यो ‘एक चीन नीति’ मा चुनौती भएको बताएको छ । यसैबीच, अमेरिकाले ताइवाननजिक चीनको सैन्य गतिविधिलाई ‘उत्तेजक कार्य’ भनेको छ । र, यसले क्षेत्रमा खतराको स्थिति सिर्जना गरिरहेको आरोप लगाएको छ ।
अर्कातर्फ चीनले अमेरिकालाई ‘आगोसँग नेखेल्न’ चेतावनी दिएको छ । चीनले ताइवानलाई आफूबाट अलग भएको छुट्टै प्रान्तका रूपमा हेर्छ जुन देशको मुख्य भूमि आज वा भोलि आफूमा विलय हुने निश्चित रहेको ठान्छ । तर ताइवानले आफूलाई स्वतन्त्र राष्ट्रका रूपमा प्रस्तुत गर्छ । यसमा लोकतान्त्रिक शासन प्रणाली छ, तर ताइवानले आधिकारिक रूपमा आफूलाई स्वतन्त्र राष्ट्र घोषणा गरेको छैन । बीबीसी
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:१६
प्रतिक्रिया दिनुहोस्