बाबुछोरीको कृति एकैसाथ लोकार्पण
काठमाडौं– गायिका तथा गीतकार अनिला राई एकसाथ दुई कृति लिएर आएकी छन् । गायिका अनिलाले गीति एल्बम ‘एन्जेलिना’ र गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ लिएर आएकी हुन् ।
गायिका अनिलाले आफ्नो जन्मदिनको अवसर पारेर मंगलबार राजधानीमा एक समारोहबीच तीन कृतिको एकसाथ लोकार्पण गरिएको हो । गायिकाको जन्मदिन पारेर आयोजित कार्यक्रममा अनिलाको गीति एल्बम ‘एन्जेलिना’, गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ तथा कविता संग्रह ‘अक्षरको ऐना’ सार्वजनिक गरिएको हो ।
‘अक्षरको ऐना’ गायिका अनिलाका बुबा गंगा राईले लेखेका हुन् । बाबु–छोरीको कृतिलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ अमर गिरि, कवि भूपाल राईलगायतले संयुक्तरुपमा लोकार्पण गरेका थिए ।
सार्वजनिक गरिएको ‘एन्जेलिना’ अनिलाको सातौँ एल्बम हो । गीति पुस्तक भने उनको पहिलो हो । एल्बम ‘एन्जेलिना’मा नौ वटा गीत संग्रहीत छन् । जसमा अनिलाको एकल शब्दरचना रहेको छ ।
एल्बममा संग्रहीत नौ वटा गीतमध्ये दुई वटा गीतमा गायक रोशन राईले स्वरमा साथद दिएका छन् । एल्बममा ‘धाराको पानी’, ‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’, ‘ढिडो र सिस्नु’, ‘पठाउँदै छ युद्ध भूमि’, ‘साकेला’ र ‘चिसो चिसो मौसम छ’ बोलका गीत रहेका छन् । यी गीतहरुमा सात वटामा अनिलाको एकल स्वर रहेको छ भने ‘धाराको पानी’ र ‘चिसो चिसो मौसम छ’ मा गायक रोशन राईले स्वरमा साथ दिएका छन् ।
‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’ र ‘पठाउँदै छ युद्ध भूमि’ गीतमा शान्तिराम राईको संगीत रहेको छ । यस्तै, ‘धाराको पानी’ बोलको गीतमा संगीत रोशन राईले गरेका हुन् । यस्तै, ‘ढिँडो र सिस्नु’मा डाक्टर किरात र ‘साकेला’ मा जसिहाङ राई र ‘चिसो चिसो मौसम छ’मा सचिन सिंहको संगीत रहेको छ । गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ एक सय १२ वटा गीत संग्रहीत छन् जसमध्ये नौ वटा गीत रेकर्ड गरिएको हो ।
यस्तै, सार्वजनिक गरिएको गंगारामको कविता संग्रह ‘अक्षरको ऐना’ मा २४ कविता रहेका छन् । कार्यक्रममा तीन वटा गीतको भिडियो सार्वजनिक गरिएको थियो । ‘धाराको पानी’, ‘प्यारी छोरी’ र ‘आमा’को गीतको भिडियो कार्यक्रममा प्रिमियर गरिएको थियो ।
‘धाराको पानी’ गीतको भिडियोलाई कमल राईले गरेका हुन् । भिडियोमा योगेन्द्र राई र उपशना नेम्बाङले अभिनय गरेका छन् । यस्तै, ‘प्यारी छोरी’ गीतको भिडियोमा गायिका अनिला र उनकी छोरी एन्जेलिना नै फिचरिङ छन् भने ‘आमा’ मा अनिला, उनकी आमा सत्यवति र एन्जेलिना राईले अभिनय गरेका छन् ।
https://www.youtube.com/watch?v=t5_ETqT08Nw
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:२९
प्रतिक्रिया दिनुहोस्