अभिनेता प्रदीपले सम्झिइरहने दुई शिक्षक
काठमाडौं– अभिनेता प्रदीप खड्कालाई जीवनमा कहिल्यै शिक्षक बन्छु भन्ने लागेन । उनलाई कुनै बेला सेना बन्छु त कुनै बेला व्यापारी बन्छु भन्ने लागेको थियो । यिनै प्रदीप यतिबेला शिक्षक बन्न संघर्षरत एक जुम्ली युवाको भूमिकामा फिल्म ‘प्रकाश’ मा देखिँदैछन् । दिनेश राउत निर्देशित यो फिल्म यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।
प्रदीप जहिल्यै पनि आफ्नो जीवनका दुई शिक्षक सम्झन्छन् । उनीहरुले प्रदीपलाई गर्ने व्यवहारको जहिल्यै उनी स्मरण गरिरहन्छन् । ‘म स्कुलमा राम्रै पढ्ने विद्यार्थी थिएँ । जहिल्यै प्रथम हुन्थें, अंकहरु पनि राम्रो आउँथ्यो’, प्रदीप भन्छन्, ‘तर हामीलाई गणित पढाउने मलाई जहिल्यै गाली गर्नुहुन्थ्यो । अझ भनौं कुटौला गर्नुहुन्थ्यो । मलाई यो शिक्षकले किन मनपराउनुहुन्न । मैले उहाँको के बिगारिदिएको छु जस्तो लाग्थ्यो ।’
प्रदीपका अनुसार ती शिक्षकले उनलाई चार अंकको २० वटा र दुई अंकको ८० वटा प्रश्न दिन्थे । ‘दिनहुँ लेखेर देखाउनु पथ्र्यो । मैले एक, दुई तीन गरेर नियमित लेख्थें । पानाको अन्तिममा शिक्षकले हस्ताक्षर गर्नुभएको थियो’, प्रदीप सम्झन्छन्, ‘धेरै लेखिरहँदा अल्छी लागेपछि अन्तिम पाना च्यातेर बाँकीको उत्तर लेखेर दिन थालें । तर एकदिन शिक्षकले त्यो थाहा पाएपछि हरेक पाना हेर्न थाल्नुभयो । म पनि एकदेखि पाँच, पाँचदेखि दश गर्न थालें । किनकी मलाई त्यो बेला तनाव नै भएको थियो ।’
प्रदीपले एसएलसी दिए । एसएलसीको नतिजा आउने दिन उनका लागि अर्को सम्झनायोग्य क्षण छ । ‘नतिजा आउने दिन थियो । म सुतिरहेको थिएँ । बिहानको पाँच बजे त्यही गणित पढाउने सरको फोन आयो । उहाँले ‘भाई तिम्रो त डिस्टिङसन आयो’ भनेर भन्नुभयो । अहिले यसो सम्झँदा उहाँले मलाई किन बढी ध्यान दिइरहनुभएको छ भन्ने लाग्यो । मेरो बुझाईमा उहाँले मलाई पुसअप गर्नुभएको रहेछ ।’ त्यसपछि प्रदीपले कहिल्यै ती सरलाई भेटेनन् ।
प्रदीप अर्का शिक्षकको भनाई जहिल्यै सम्झन्छन् । ‘उहाँले मलाई ‘मैले एसएलसी दिइरहेको समयमा अंग्रेजी शिक्षकको एकदमै माग थियो । तर जब म आफैं पढाई सकेर अंग्रेजी शिक्षक बनेर आएँ, त्यो बेला बजारमा अंग्रेजी शिक्षक नै शिक्षक थिए’ भन्नुभएको थियो । यो कुरा अझै पनि म सम्झन्छु’, प्रदीप भन्छन् ।
प्रदीपको बुझाईमा अंग्रेजी शिक्षकको कुराले दश वर्षपछिको अवस्थालाई देखाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:३२
प्रतिक्रिया दिनुहोस्