Nic Ad Nic Ad
Nic Ad Nic Ad

भदौ अन्तिमदेखि सुपथ मूल्य पसल, तीन हजार खसी बोका काठमाडौं ल्याइने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - चाडपर्व नजिकिँदै गर्दा सरकार सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी थालेको छ । असोजको दोस्रो-तेस्रो सातामा परेको यस वर्षको दशैँ र कात्तिकको दोस्रो सातामा परेका तिहार र छठलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना तयार गरेको छ । प्रत्येक वर्ष चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा.घ नारायण रेग्मीले सुपथ मूल्य पसल सञ्चालन गर्ने निणर्य गरेर सम्बन्धित निकायलाई निर्देशन समेत गइसकेको जानकारी दिएका छन् । चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसलबाट सामान बिक्री गर्नेछन् । छुट मूल्यमा उपभोक्तालाई सामान बिक्री गरेबापत सरकारले कम्पनीलाई शोधभर्ना रकम उपलब्ध गराउँछ । दुई वर्षअघिदेखि सरकारले उपभोक्तालाई राहत दिन बजेटमै रकम व्यवस्था गर्दै आएको छ । यस वर्ष उपभोक्तालाई राहत दिन चार करोड रुपियाँ छुट्याइएको मन्त्रालयले जनाएको छ । सुपथ मूल्य पसलमा नुन, तेल, चामल, घिउ, पनिर, फापर र कर्णालीको सिमी बिक्रीमा राखिनेछ । यस्तै घुम्ती सेवामार्फत सुपथ मूल्यमा सामान बिक्री गरिनेछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस पटक दशैँका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा काठमाडौं ल्याउने भएको छ । दशैँमा खसीबोकाको खपत धेरै हुने हुँदा बजार मूल्य नियन्त्रण गर्न खाद्य कम्पनीले खसीबोका बिक्री गर्ने गरेको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले यसपालि दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको जानकारी दिए । यसका लागि छ करोड ४५ लाख रुपैंयाँ विनियोजन गरेको उनले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:१२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार