Nic Ad Nic Ad
Nic Ad Nic Ad

शो बढाउँदै प्रकाश

बुधबार, मंसिर ७, २०७९
काठमाडौं– शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रकाश’ लाई हलवालाले सोचेजस्तो शो नदेखिएपछि यसका अभिनेता प्रदीप खड्का, निर्माता महेन्द्र अधिकारी निकै रिसाए । बलिउडबाट ‘लाइगर’ रिलिज हुनेभएपछि हलवालाले ‘लाइगर’ लाई प्राथमिकतामा राखेर ‘प्रकाश’ र ‘राधा’ लाई कम शो दिए । ‘प्रकाश’ को टिमले त शुक्रबार बिहान पत्रकार सम्मेलन गरेरै आक्रोश पोख्यो । अभिनेता प्रदीपले हलले राम्रो शो नदिए आफूहरु प्रोजेक्टरमार्फत नै भए पनि सार्वजनिक रुपमा फिल्म देखाउने चेतावनी नै दिए । फिल्म ‘प्रकाश’ लाई क्युएफक्स चेनले सर्वाधिक १६ वटामात्र शो दिएको थियो । जबकी ‘लाइगर’ लाई २४ सो दिएको छ । अन्य हलहरुले पनि नेपाली फिल्मलाई भन्दा बलिउड फिल्मलाई विशेष महत्व दिएका छन् । ‘प्रकाश’ का वितरक रोहित कट्टेलका अनुसार क्युएफक्स चेनले फिल्मलाई शनिबार २३ शो दिएको छ । ‘अन्य हलहरुले पनि प्रकाशको शो बढाउनेतर्फ चासो दिएका छन् । हामीले हलवालालाई शो बढाउनका लागि आग्रह गरिरहेका छौं’, उनले भने । ‘प्रकाश’ निर्देशक दिनेश राउत शुक्रबारको तुलनामा शनिबार शोको संख्या बढेको स्वीकार्दै बाँकी दिनमा पनि शो बढ्नेमा ढुक्क देखिए । ‘यो समस्या प्रकाशमा मात्र होइन, धेरै अघिका फिल्मले पनि यस्तै समस्या भोग्दै आएका छन् । हामीले आवाज उठाएका छौं’, दिनेशले भने, ‘फिल्म हेर्दै नहेरी अनुमानका भरमा हलवालाले शो कम दिँदा हामी मारमा परेका छौं । जति हलमा फिल्म रिलिज भएका छन्, सबैतिरबाट राम्रो प्रशंसा पाइरहेका छौं । फिल्मले पिकअप लिनेमा ढुक्क छु ।’ फिल्ममा प्रदीपसँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतको अभिनय छ । फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । ‘प्रकाश’ अघिका घटनाक्रमलाई हेर्ने हो भने नेपाली फिल्ममा दर्शकको संख्या बढ्दै गएपछि मात्र हलवालाले शो थप्दै गएका उदाहरण प्रशस्त छन् । नेपाली फिल्मलाई हलवालाले प्राथमिकता दिनुपर्ने आवाज पटक पटक उठ्दै आए पनि यसको सुनुवाई हुन सकेको छैन ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्