दोस्रो खेलमा नेपाल १८ रनले पराजित
काठमाडौँ– घरेलु टोली केन्यविरुद्धको टी–२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल आज सम्पन्न खेलमा १८ रनले पराजित भएको हो ।
केन्याको यो जितसँगै पाँच खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा नेपालले पाँच विकेटको जित हात पारेको थियो ।
१३३ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रनको योगदान दिए । आदिल अन्सारी र रोहित पौडेलले २०–२० तथा पवन सर्राफले १९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
केन्याका लागि विराज पटेल, इमानुएल बोन्डी र लुकास ओलुचले दुई–दुई तथा नेहम्याह ओधिएम्बा र युजिन ओचिङले एक–एक विकेट लिए ।
यसअघि नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । उसका लागि राकेप पटेलले सर्वाधिक ३५ रनको योगदान दिए । नेहम्याह ओधिएम्बोले २९ इर्फान पटेलले २२ र सचिन बुदियाले १४ रन जोडे ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन–तीन, करण केसीले दुई तथा पवन सर्राफले एक विकेट हात पारे । तेस्रो खेल आइतबार हुनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २१:०१
प्रतिक्रिया दिनुहोस्