आज बुवाको मुख हेर्ने दिन, फार्दस डे आजै हो ? यस्तो छ कुशको महत्व
आज भाद्र कुशे औंसी, बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिनलाई बुवाको मुख हेर्ने दिन भनिन्छ । यस दिन आफ्नो बुवालाई मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुवाको मुख हेर्ने औंसीलाई कुशे औंसी पनि भनिन्छ ।
आज पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन हो । कुशै औंशीका दिन पिता हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन् ।
यस्तै बुवा नहुनेले पिताको सम्झनामा तस्वीर हेरेर वा विभिन्न मन्दिर शक्तिपीठ, देवालय लगायतका पवित्र तीर्थस्थल पुगेर पितृहरुको नाममा श्राद्ध गरी तर्पण, सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्दछन् ।
के छ बुवाको मुख हेर्ने दिनको महत्व ?
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यता अनुरूप यस दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ । भाद्र कृष्ण औैंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरी देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने पनि गर्दछन् ।
के फार्दस डे र बुवाको मुख हेर्ने दिन एउटै हो ?
कतिपयले बुवाको मुख हेर्ने दिनलाई फादर्स डे पनि भन्छन् । तर फार्दस डे र बुवाको मुख हेर्ने दिन फरक फरक हुन् । सन् १९०९ मा पहिलो पटक सोनोरा डोडले आफ्नो पिताको सम्मानमा फार्दस डे मनाएकी थिइन् । त्यसपछि फार्दस डेलाई जुन १९, १९१० मा अमेरिकामा मनाइयो । तर बुवाको मुख हेर्ने दिन कहिलेबाट मनाउन थालियो भन्ने कुनै यकिन तथ्यांक छैन । यो पौराणिक कालबाटै भाद्र कुशे औशींको दिन मात्र मनाइन्छ ।
कुशे औशी
शास्त्रअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।
कुशको महत्व
नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने बहूपयोगी कुशलाई हिन्दू धर्ममा महत्वका साथ हेरिन्छ । वैदिक सनातन हिन्दू संस्कारमा कुश अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिकक भूमिका भएको पवित्र वनस्पती मानिन्छ । यो देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती हो । औंशी दिन घरमा ल्याइने कुशको महिमा श्रीमद्भागवत् गीता, गरुड पुराण, यथर्व वेद र विष्णु पुराणमा समेत वर्णन गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:५७
प्रतिक्रिया दिनुहोस्