नेभिगेशन
जीवनयापन

अस्पतालबाट निस्कने फोहरबाट ऊर्जा उत्पादन

नुवाकोट - नुवाकोटको त्रिशूली अस्पतालबाट उत्पादन हुने फोहरबाट ऊर्जा उत्पादन गर्न थालिएको छ । अस्पतालबाट निस्कनेमध्ये कुहिने फोहरलाई बायोग्यास प्लान्टमार्फत ऊर्जा (मिथेन ग्यास) उत्पादन गरेर अस्पतालको आवासीय मेस (भान्सा)मा प्रयोग गर्न थालिएको अस्पतालका प्रमुख डा. दीपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार बागमती प्रदेश सरकारको सहयोगमा रु आठ लाख लगानी ४० घनमिटर क्षमताको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याइएको हो । ‘प्रसूती कक्षबाट निस्कने प्लासेन्टा, शल्यक्रिया-ड्रेसिङ गर्दाको मानवजन्य अङ्ग, बिरामी र कुरुवाले खेर फालेका खाद्यान्नलगायत कुहिने फोहरलाई अस्पताल परिसरमा निर्माण गरिएको प्लाण्टमा विसर्जन गर्न थालिएको छ ।’ अस्पतालका प्रमुख डा. पाण्डेले भने, ‘प्लान्टबाट उत्पादन हुने इन्धनले चिकित्सकको आवासीय मेसमा १५ जनालाई आवश्यक इन्धन पर्याप्त बनेको छ ।’ प्लान्ट सञ्चालनले अस्पतालजन्य कुहिने फोहरको बिसर्जनको समस्या समाधानसहित फोहरका कारण लाग्नसक्ने सरुवाजन्य रोग नियन्त्रण र इन्धन उत्पादनले अस्पतालको खर्च बचाएको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितले जानकारी दिए । उनका अनुसार अहिले परीक्षणका रुपमा सञ्चालनमा ल्याइएको प्लान्टबाट करिब ४० जनासम्मलाई खाना, खाजाका लागि आवश्यक इन्धन उत्पादन भएकाले ऊर्जा उत्पादनको दायरा बढाएर अस्पतालको चमेना गृहलाई बिक्री गर्ने लक्ष्य छ । ‘अस्पतालबाट उत्पादित फोहर विसर्जन गर्न यसअघि मासिक रु एक हजार पाँच सय शुल्क तिर्नुपर्ने थियो’, अस्पतालका अध्यक्ष पण्डितले भने, ‘कुहिनेबाट ऊर्जा र नकुहिनेलाई समेत एक निजी कम्पनीलाई मासिक रु तीन हजारमा बिक्री गर्न हालै सम्झौता गरेका छौँ ।’ त्रिशूली अस्पतालले अस्पतालको सेवा प्रभावकारी बनाउन दक्ष जनशक्तिको व्यवस्थापन, आवश्यक उपकरणको प्रबन्ध र विशेषज्ञ सेवाको विस्तार गर्दै अस्पताल सञ्चालनका क्रममा देखिएका आन्तरिक समस्याको समाधानलाई प्राथमिकता दिँदै आएको जनाएको छ । सो क्रममा फोहर बिसर्जनका लागि प्लान्टको निर्माणसहित डिप बोरिङ निर्माण गरेर पानीको सुविधा सहज बनाइएको छ । ‘न्यूनतम सेवा मापदण्ड’मा त्रिशूली अस्पतालले देशभरका सरकारी अस्पतालमध्ये आर्थिक वर्ष २०७७/७८ मा ८३ अङ्क प्राप्त गरेको थियो भने गत आव २०७८/७९ मा ९४ अङ्कको साथ देशभरको उत्कृष्ट अस्पताल घोषित भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै