स्वीस बैंकमा नेपालीको पैसा कति छ ?
गोपनीयता कायम हुने भएपछि अवैध र गैरकानूनी तवरबाट कमाइएको पैसा राख्ने सबैभन्दा राम्रो र भरपर्दो माध्यम बनेको छ, स्वीजरल्याण्डको स्वीस नेसनल बैंक । पैसा जम्मा गर्ने व्यक्तिको कुनै पनि सूचना सार्वजनिकन गरिने भएपछि नेपालकामात्रै होइन, विश्वका सबै भ्रष्ट नेता, कर्मचारी र व्यापारीहरुले स्वीजरल्याण्डको स्वीस बैंकमा पैसा जम्मा गर्ने प्रवृत्ति बढ्दो छ ।
पछिल्ला वर्षहरुमा स्वीस बैंकमा नेपालीहरुले पैसा जम्मा गर्ने क्रम पनि बढ्दै गएको छ । शंकास्पद धन लुकाउनको लागि चर्चित स्वीस बैंकमा नेपालीहरुको पैसा बढ्दै गएको विवरणहरु सार्वजनिक भएका छन् । यसै कुरालाई पुष्टि गर्ने गरी पूर्व अर्थमन्त्रीसमेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले स्वीस बैंकमा नेपालीहरुको अर्बौ रुपैंया भएको खुलसा गरेका छन् ।
वरिष्ठ नेता लोहनीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालीहरुको अर्बौ रुपैंया स्वीस बैंकमा रहेको दाबी गरेपछि यस विषयमा बहस सुरु भएको छ । देशको अर्थमन्त्री भइसकेको व्यक्तिले नै नेपालीहरुले अर्बाै रुपैंया स्वीस बैंकमा राखेको भनेपछि अहिले यस विषयमा गम्भीर प्रश्न उठेको छ ।
उनकाअनुसार नेपालीहरुले हालसम्म झण्डै ४६ अर्ब ६४ करोडभन्दा बढी रकम स्वीस बैंकमा जम्मा गरेका छन् । डा. लोहनीकाअनुसार सन २००१ सम्म स्वीस बैंकमा नेपालीहरुको करीब ३ अर्ब ५८ करोड रुपैंया रहेको थियो । सन २०१० सम्म यो रकम बढेर १२ अर्ब ५५ करोड पुगेको र सन २०२० सालसम्म आइपुग्दा करीब ४६ अर्ब ६४ करोड पुगेको छ ।
त्यसो त स्वीस बैंकले रकम जम्मा गर्ने व्यक्तिको कुनै पनि विवरण सार्वजनिक गर्दैन । कालोधन जम्मा गर्न सबैभन्दा सुरक्षित मानिएको स्वीस बैंकले नै कुनै विवरण सार्वजनिकन गरेको बेलामा पूर्व अर्थमन्त्री जस्तो व्यक्तिले कसरी नेपालीहरुको ४६ अर्ब ६४ करोड रुपैंयाँ स्वीस बैंकमा जम्मा भएको दाबी गरे त ?
हामीले यस विषयमा डा.लोहनीसँग प्रश्न गर्दा उनले हाँस्दै भनेका छन्, ‘यो त देशले अग्रगामी छलाङ मारेको हो । अग्रगामी छलाङ भने हुँदैन यसलाई?’ भन्दै हामीलाई नै प्रतिप्रश्न गरेका छन ।
त्यसभन्दा अघि उनले भनेका छन ‘यसको सोर्स कुनै गाह्रो कुरा छैन । मैले कुनै मनगणन्ते कुरा गरेको छैन । यसको सोर्स चाहिँ तपाईं गुगलमा जानुस, गुगलमा नेप्लीज अकाउन्ट इन स्वीस बैंक भन्ने हान्नुस, मैले पनि त्यसैगरी खोज्दै जाँदा पत्ता लगाएको हो । त्यहाँ चाहिँ दिएको छ । उनीहरुले एक दुई व्यक्तिको नाम दिएको छ । तर सबैको नाम दिएको छैन । अहिले स्वीस बैंकबाट पैसा राख्ने झिक्ने पनि भइरहेको छ ।’
राजतन्त्रको बेला राजपरिवारले जनता लुटेर अर्बौ रुपैंयाँ स्वीस बैंकमा राखेकोे दाबी गर्ने नेताहरु अहिले देशको कार्यकारी ठाउँमा छन । अहिले सत्ता सम्हालेका नेताहरुले त्यो बेला देशमा गणतन्त्र स्थापना गर्ने र राजामहाराजाले स्वीस बैंकमा जम्मा गरेको पैसा नेपालीलाई बाँड्ने आश्वासन दिँदै जनतालाई आन्दोलनमा उक्साएका थिए ।
तर नेपालमा गणतन्त्र स्थापना भएको पनि १५ वर्षभन्दा बढी भयो । त्यसयता राजाको पैसा नेपाल ल्याएर बाढ्छौं भन्नेहरुका पार्टी दर्जनभन्दा बढी सरकारमा सहभागी भए । कति मन्त्री भए त कति सांसद भए । कति त प्रधानमन्त्रीसमेत भए । तर यस विषयमा छानविन गर्न भने उनीहरुले कुनै ठोस नीति अबलम्बन गरेको हामीले पाएका छैनौं । राजतन्त्रका बेला स्वीस बैंकमा जम्मा ३ अर्ब चानचुन भएको पैसा अहिले १५ वर्षको अवधिमा कसरी १५ गुणाभन्दा बढीले बढ्यो ? प्रश्न उठ्ने गरेको छ । तर जवाफ दिने कोही छैन ।
राजामहाराजाको पैसा ल्याएर बाढ्छौं भन्नेहरुले नै शासन सत्ता सम्हालेपछि यो रकम १५ प्रतिशतभन्दा बढीले बढेको छ । तर यसतर्फ खोजी गर्ने र दोषीमाथि कारवाही गर्न भने कुनै राजनीतिक दल तयार देखिएका छैनन् ।
देशबाट बाहिर जाने र आउने रकमको सबै लेखाजोखा राख्नुपर्ने नेपाल राष्ट्र बैंकसँग पनि यसको कुनै विवरण छैन । आखिर राष्ट्र बैंकको आँखा छलेर अर्बौ रुपैंया कसरी स्वीस बैंकको खातामा जम्मा भइरहेको छ त ? यस विषयमा हामीले राष्ट्र बैंकसँग जवाफ माग्यौं । तर जवाफमा यसरी अवैध रुपमा विदेशमा राखिएको धनराशीको कुनै विवरण नहुने राष्ट्र बैंकले हामीलाई बतायो ।
त्यसपछि यस विषयमा हामीले नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. तिलक रावललाई प्रश्न गरेका थियौं । जवाफमा उनले भनेका छन्, ‘यसको निगरानी सरकारले राख्नु पर्ने हो । तर सरकार कहाँ छ मलाई थाहा छैन । जहाँसम्म राष्ट्र बैंकको सवाल छ, राष्ट्र बैंकसँग सेना, प्रहरी वा कुनै गुप्तचर हुँदैन । उसले यसमा पत्ता लाएर छानबिन गर्नसक्ने हैसियत राख्दैन । यसमा त सरकारकै अहम भुमिका हुनुपर्ने हो । तर सरकार चाहिँ कानमा तेल हालेर बसेको जस्तो लाग्छ । सत्ताधारीहरुको ध्यान चाहिँ गठबन्धन, भागबण्डा, सत्तामा टाँसिरहनेमा मै बढी केन्द्रीत रहेको देखिन्छ । त्यसैले कताकता शंका पनि लाग्छ, यी आलोपालो सत्ता हाँक्ने सत्ताधारीहरु र यिनीहरुबाट संरक्षित व्यवसायीहरुकै पैसा त बढी छैन बाहिर थन्किएर बसेको ? मलाई त अब शंका लाग्न थाल्यो ।’
मुलुकमा यस सम्बन्धमा कानून नै नभएको भने होइन । तर कानूनलाई आफू खुशी व्याख्या गर्ने ज्ञाताको कमि नहँुदा यस्तो अवस्था आएको जानकारहरुको बुुझाई छ । आम नेपाली विहान बेलुकाको छाक टार्न सकसमा रहेको बेला स्वीस बैंकमा यती धेरै अकुत धन जम्मा हुनुले देशमा भ्रष्टाचार बढ्दै गएको पुष्टि हुन्छ ।
यसैविषयलाई जोडेर ट्रान्सपेरन्सी इन्टरनेशनल नेपालकी प्रमुख पद्मिनी प्रधानाङ्ख, भन्छिन, ‘एकलाख रुपैंयाँ हामीले बंैकमा राख्दा आयश्रोत देखाउनुपर्ने, तर यत्रो रकमको कुनै आयश्रोत देखाउन नपर्ने ? यस्तो विषयमा सरकार गम्भीर नहुँने हो भने निकट भविष्यमा हाम्रो देशले नराम्रो परिणम भोग्नु पर्ने हुन्छ । एकपल्ट पहिले पनि झण्डै ब्ल्याक लिस्टमा पर्न आँटेको थियौं, त्यसबाट उम्कियौं । अब यदि यस्तै नीति नियम बनाउने हो र विदेशमा रहेको नेपालीको धन खोजेर दोषीलाई कारवाही नगर्ने हो भने हाम्रो देश श्रीलंकाको भन्दा पनि नराम्रो अवस्थामा पुग्छ ।’
दक्षिण एसियाली देशहरुमा पनि नेपाल स्वीस बैंकमा पैसा जम्मा गर्नेहरुको चौथो धनी देशमा सुचीकृत भएको छ । पाकिस्तान, भारत, मालदिभ्स, श्रीलंका, भुटान, बंगलादेश, अफगानिस्तानमध्ये नेपाल स्वीस बैंकमा पैसा जम्मा गर्ने देशहरुमा चौथो राष्ट्र हो । नेपाल, भारत, पाकिस्तान र बंगलादेश पछि दक्षिण एसियाली राष्ट्रहरुमा स्वीस बैंकमा सबैभन्दा धेरै पैसा जम्मा गर्ने देश भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
कानून छलेर देशभित्र र बाहिर राखेको सम्पत्तिको अध्ययन गर्न सरकारले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग गठन गरेको पनि एक दशकभन्दा बढी भयो । तर ३० औं वर्षदेखि स्वीस बैंकमा राखिएको अवैध धनको अत्तोपत्तो छैन । जनता चनाखो र सरकार सजग नभए भोलिका दिनमा देश भ्रष्टाचारको अखडा बन्न सक्ने स्पष्ट आधारहरु देखा परेका छन ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि देशमा भ्रष्टाचार अन्त्य हुने र सुशासन कायम हुने भनिएपनि स्वीस बैंकमा जम्मा गरिएको पैसाले नेपाल भ्रष्टाचारको अखडा बन्दै गएको पुष्टि हुन्छ । रेमिट्यान्स, ऋण र अनुदानको भरमा चलेको नेपाल, स्वीस बैंकमा पैसा जम्मा गर्ने देशहरुमा भने धनाढ्य मुलुकको रुपमा स्थापित हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:२५
प्रतिक्रिया दिनुहोस्