Nic Ad Nic Ad
Nic Ad Nic Ad

तीन सय चौबिस अफगान शरणार्थी क्यानडामा

बिहीबार, मंसिर ८, २०७९
काबुल– तीन सय २४ जना अफगान शरणार्थी बोकेको एउटा विमान क्यानडाको मनिटोवा प्रान्तको राजधानी विनिपेगमा अवतरण गरेको छ । तालिवान सरकार सत्तामा आएपछि करिब ४० हजार अफगान नागरिकलाई क्यानडा सरकारले पुनर्वासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेअनुरूप उनीहरू विनिपेग पुगेका हुन् । विमानमा क्यानडाली सेना र सहयोगी संस्थासँग काम गरेका दोभाषेलगायत रहेका खामा प्रेसले जनाएको छ । खामा प्रेसकाअनुसार हालसम्म १७ हजार छ सय ५५ जना अफगान नागरिकलाई क्यानडामा बसोबासको प्रबन्ध भइसकेको छ । मानवीय सहायता कार्यक्रमअन्तर्गत उनीहरूलाई स्थायी बसोबासको व्यवस्था गरिएको हो ।  अफगानीहरूलाई क्यानडा स्थानान्तरणको प्रयास जारी रहेको छ । गत वर्ष तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँ अकल्पनीय मानवीय सङ्कट उत्पन्न भयो जसका कारण अन्तर्राष्ट्रिय समुदाय एवम् विकसित देशले सहयोगी हात फैलाए । लाखौँ महिला र बालिका आधारभूत अधिकारबाट वञ्चित हुनुपरेको छ भने पोशाकलगायत धेरै अमानवीय प्रतिबन्ध झेल्न विवश पारिएका छन् । सार्वजनिक स्थलमा अनुहार छोप्नैपर्ने, एक्लै यात्रा गर्न नपाइनेजस्ता धेरै अव्यवहारिक एवम् अमानवीय उर्दी तालिबानले महिलाहरूमाथि जारी गरेको छ । महिलाले स्मार्टफोनसमेत प्रयोग गर्न नपाउने निरङ्कुश आदेश उसले जारी गरेको छ । तालिबानका कारण सञ्चारमाध्यममा कार्यरत ८० प्रतिशत महिलाले रोजगारी गुमाएका तथा देशका करिब एक करोड ८० लाख महिला स्वास्थ्य, शिक्षा र सामाजिक अधिकारका निम्ति सङ्घर्ष  गरिरहेका छन् । सत्ता कब्जा गरेपछि तालिबानले पत्रकार सम्मेलन गरेर समावेशी समाज र समानता प्रवर्द्धनको प्रतिबद्धता जनाए तापनि त्यो पालना भएको छैन । रासस
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:५४
प्रतिक्रिया दिनुहोस्