बैँक पछि अब मर्जरमा सहकारी पनि, पाँच वटा सहकारी एकआपसमा गाभिने
काठमाडौँ– बैक तथा बीमा कम्पनीहरूलाई एक आपसमा गाभ्ने गाभिने प्रक्रियालाई प्रोत्साहन गरेसँगै काठमाडौँका विभिन्न स्थानमा रहेर सञ्चालित पाँच वटा सहकारीहरू पनि एकआपसमा गाभिने भएका छन् ।
काठमाडौँमा कार्यक्षेत्र रहेको आइडल यमुना बहूद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहूद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएको छ ।
गाभिएपछि बन्ने संस्थाको कारोबार झण्डै नौ अर्ब पुग्ने भएको छ भने बचत चार अर्ब ६३ करोड ७० लाख हुनेछ । त्यसै गरी ऋण तथा लगानी चार अर्ब ९९ करोड ४५ लाख ३९ हजार र कुल सम्पत्ति सात अर्ब ५८ करोड एक लाख ७५ हजार पुग्ने जनाइएको छ ।
गाभिएपछिको सहकारीको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लि।’ रहने अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिनुभयो ।
पाँच सहकारी गाभिएपछि सहकारी संस्थाको शेयर पुँजी ३० करोड ८१ लाख २२ हजार ५०० पुग्ने, सदस्य सङ्ख्या ३५ हजार २० पुग्ने र र ऋणी सदस्य सङ्ख्या छ हजार ८५८ जना पुग्ने भएको छ । पाँच सहकारी एक भएपछि संस्थाको जगेडा कोष रु १४ करोड ६६ लाख ८९ हजार नौ सय ८२ हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:३५
प्रतिक्रिया दिनुहोस्