Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘होप अन हप अफ’ बस सञ्चालनबारे छलफल

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटकहरूलाई सहज बनाउन ‘होप अन हप अफ’ सिटी बस सञ्चालनबारे सरोकारवालाहरूसँग छलफल गरेका छन् । मन्त्रालयमा आज भएको छलफलमा बस व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरी लगायत सरोकारवालाको उपस्थिति थियो । काठमाडौँका सांस्कृतिक सम्पदा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकहरूलाई सम्पदा क्षेत्र अवलोकनमा सार्वजनिक सवारी सहज बनाउन ‘होप अन हप अफ’ बस सञ्चालन गर्न लागिएको जानकारी दिए। काठमाडौँमा पर्यटकलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सार्वजनिक सवारी सहज नहुँदा हैरानी खेप्नुपरेको गुनासो आउने गरेको छ । काठमाडौँका विश्व सम्पदा सूचिमा सूचीकृत सम्पदा तथा मुख्य पर्यटकीय क्षेत्रमा ‘होप अन हप अफ’ बस सञ्चालन भएपछि पर्यटकहरू केही घण्टामै मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्नेछन् । ‘होप अन हप अफ’ का लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका बस सेवा सञ्चालन गर्नुपर्ने सरोकारवालाको सुझाव छ । पहिलो चरणमा साझा यातायातका बिजुली बसलाई ‘होप अन हप अफ’ का लागि प्रयोग गर्ने तयारी गरिएको छ । साझा यातायात सञ्चालक समितिका सदस्य भूषण तुलाधरले दुई महिनाभित्र बस सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको बताए । अपाङ्गता तथा ज्येष्ठ नागरिकमैत्री बसमा पर्यटक पथप्रदर्शक समेत हुनेछन् । २७ किलोमिटरको मुख्य सम्पदा यात्राका लागि करिब साढे २ घण्टा समय लाग्नेछ । पाँच वटा बस तीसरतीस मिनेटमा छुट्ने गरी तयारी गरिएको तुलाधरले बताए । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्र विकासको लागि सांस्कृतिक सम्पदाहरूलाई संरक्षण र संवर्द्धन गर्दै अर्थतन्त्रमा टेवा पुग्ने गरी कार्ययोजना अगाडि बढाइएको बताए।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:५०
प्रतिक्रिया दिनुहोस्