ऐना झ्यालको पुतलीको मेरो गाउँ ज्यामिरे
काठमाडौँ– भदौ २४ मा प्रदर्शन हुन गइरहेको फिल्म ‘ऐना झ्यालको पुतली’मा समावेश गरिएको बाल गीत सार्वजनिक भएको छ । ‘मेरो गाउँ ज्यामिरे’ बोलको गीत फिल्मझैं केटाकेटीको वरिपरि रहेर तयार गरिएको छ ।
रामबाबु सुवेदीको शब्द रचना रहेको गीतमा रामेश श्रेष्ठको संगीत रहेको छ । गीतमा टेम्दो छिरिङ, अङ्गमु लामा र स्वर्णिम स्कुलका विद्यार्थीहरूले स्वर दिएका छन् ।
रामबाबु सुवेदीका अनुसार यो गीत उनले २०४० सालमा रचना गरेका थिए । २०४२ सालमा रामेश श्रेष्ठले यसको संगीत गरेका थिए । रेडियो नेपाल तथा एफएममा बज्दै आएको यही बालगीतलाई निर्माण टिमले फिल्मको ओर्जिनल साउन्ड ट्रयाक(ओएसटी)को रुपमा सार्वजनिक गरेको हो ।
रचनाकार रामबाबु सुवेदीले आफूले गीतमा कल्पना गरेजस्तै फिल्मको कथा पनि दुरुस्त रहेकाले गीत प्रयोगका लागि अनुमति दिएको बताए ।
लेखक तथा निर्देशक सुजित बिडारीले गीत आफूले कलेज पढ्दाको समयमा सुनेको भएपनि गीतले नोस्टाल्जिक बनाएकाले फिल्ममा पनि यही कारणले प्रयोग गर्ने निर्णय गरेको बताए ।
बुसान, ढाका, फ्रिबर्गलगायतथुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएको तथा पुरस्कृत भएको फिल्मले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा पेस गर्छ जुन परिवार अर्थ अभावका कारण छोरीलाई माध्यमिक शिक्षा दिन पनि संघर्ष गर्छ ।
योबाहेक फिल्मले बाल्यकाल र योसँग स्मृतिका कथा पनि पेश गर्छ । सुजित बिडारीको निर्देशन रहेको फिल्मलाई आकाश पौडेल, रामकृष्ण पोखरेल,प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् ।
फिल्ममा सिरु विष्ट कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटी आदिले अभिनय गरेका छन् ।
https://www.youtube.com/watch?v=0dODLNplasM
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १७:१९
प्रतिक्रिया दिनुहोस्