महानगरले २४ घण्टे अल्टिमेटम दिएपछि फन पार्कले तिर्यो कर
काठमाडौँ– प्रदर्शनी मार्गस्थित काठमाडौं फन पार्कले विगत ७ वर्षदेखि तिर्न बाँकी रहेको कर तिर्न काठमाडौँ महानगरले २४ घण्टे पत्र काटेपछि फन पार्कले बिहीबार कर तिरेको छ ।
महानगरले २४ घण्टाभित्र कर नतिरे फन पार्क सिल गर्ने चेतावनीसहित बुधबार पत्र पठाएको थियो ।
महानगरको चेतावनीपछि बिहीबार कर तिरेको हो । फनपार्कले महानगरलाई १७ लाख ३६ हजार मनोरञ्जन कर र २ लाख ६१ हजार व्यवसाय कर तिरेको महानगरको राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए ।
त्यस्तै, बहाल करका लागि समाज कल्याण परिषदलाई पत्र पठाइएको उनले जानकारी दिए । परिषद्ले बुझाउनुपर्ने बहाल करको प्रक्रिया चलिरहेको परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईले जानकारी दिए ।
बुधबार पत्र लिन नमानेको फन पार्कका प्रतिनिधि बिहीबार बिहान ११ बने महानगर गएर पत्र बुझेका थिए । पत्र बुझ्दै उनीहरूले बेलुकासम्म सबै कर तिर्ने प्रतिबद्धता जनाएका थिए ।
पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङसमेत सञ्चालक रहेको फनपार्कले ६० रोपनी जग्गा समाज कल्याण परिषद्सँग २०६९ सालमा १५ वर्षका लागि भाडामा लिएको थियो । जग्गा भोग चलन गरेबापत पार्कले परिषद्लाई मासिक ५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको परिषद्का सूचना अधिकारी भट्टराईले जानकारी दिए ।
बुधबार काठमाडौं महानगरपालिकाले काठमाडौं फन पार्कलाई व्यवसाय कर, बहाल कर, विज्ञापन कर र मनोरञ्जन कर बुझाउन पत्र काटेको थियो ।
महानगरले पार्कलाई सम्पूर्ण कर र जरिवाना पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र नबुझाए फनपार्क सिलबन्दी गर्ने चेतावनी दिएको थियो । पार्कले व्यवसाय कर, मनोरञ्जन करलागयतका कर तिर्न बाँकी थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:३७
प्रतिक्रिया दिनुहोस्