श्रीलंका छोडेर भागेका पूर्व राष्ट्रपति राजापाक्षे स्वदेश फर्कदै
कोलम्बो– श्रीलंकाको खराब आर्थिक संकटका कारण नागरिकले सरकारविरुद्ध विद्रोह गरेपछि देश छोडेर थाइल्याण्ड पुगेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे शनिबार स्वदेश फर्कदै छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार थाइल्याण्डबाट स्वदेश फर्किने अन्तिम तयारीमा छन् ।
कोलम्बोको राष्ट्रपति भवन र राजधानीका अन्य धेरै सरकारी भवनहरूमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए । श्रीलंका एयरफोर्सको विमानमा माल्दिभ्स गएका पूर्वराष्ट्रपति सिंगापुर गएका थिए । उनले १३ जुलाइमा सिंगापुरबाटै राजीनामा पठाएका थिए ।
पछि उनी अस्थायी आश्रय खोज्दै थाइल्याण्ड गए । थाइल्याण्डका विदेशमन्त्री डोन प्रमुद्विनाइले राजापाक्षेसँग कूटनीतिक राहदानी रहेकाले ९० दिनसम्म त्यहाँ बस्न सक्ने बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:५७
प्रतिक्रिया दिनुहोस्