Nic Ad Nic Ad
Nic Ad Nic Ad

कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्र ठेक्का प्रक्रियामा

शुक्रबार, मंसिर ९, २०७९
गलकोट–चालु आर्थिक वर्ष २०७९÷८० मा कालोपत्र सुरु गर्ने गरी कालीगण्डकी करिडोरको बागलुङ खण्ड ठेक्का प्रक्रियामा गएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गुल्मीको हर्मिचौरबाट बागलुङको मालढुङ्गासम्मको ५५ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का आह्वान गरिएको हो । कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय, पाल्पाका अनुसार चालु आवमै कालोपत्र गर्ने गरी हर्मीचौरबाट बलेवा विमानस्थल र वलेवा विमानस्थलबाट मालढुङ्गाको दुई खण्डमा विभाजन गरेर ठेक्का आह्वान गरिएको छ । कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय पाल्पाका कार्यालय प्रमुख कल्पना अधिकारीका अनुसार चालु आवमै सडक कालोपत्रका लागि पूर्वाधारको काम थाल्नेछ । गत फागुनमा अर्थ मन्त्रालयले बजेट सुनिश्चितता गरेसँगै अहिले करिडोरको हर्मिचौरबाट मालढुङ्गासम्मको सडकखण्ड कालोपत्रका लागि ठेक्का गरिएको हो । उनले भनिन्, ‘नेपाली सेनाले ट्रयाकसँगै आठ मिटर चौडा पारेर सडक विभागलाई हस्तान्तरण गरेको थियो, कुन स्थानमा अहिले समस्या छ, त्यहाँ सडक चौडा पार्ने, पर्खाल लगाउने र नाली निर्माणसहित सडक कालोपत्रका लागि बजेट विनियोजन भएर ठेक्कामा गएको हो, चालु आवमै छनोट भएको निर्माण कम्पनीले सडकको पूर्वाधार निर्माण थाल्ने छ ।’ गुल्मीको हर्मिचौरबाट बागलुङको पालुङखोला–टाकुरी हुँदै मालढुङ्गासम्मको सडक कालोपत्रका लागि बहुवर्षीय ठेक्का खोलिएको हो । करिडोरअन्तर्गतको मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको १० किमी सडक १० मिटर चौडा बनाइ सडक विभागलाई २०७६ पुस १ गते हस्तान्तरण गरेको थियो । सडक विभागलाई हस्तान्तरण गरेको साढे दुई वर्षपछि उक्त सडक कालोपत्रको तयारी गरिँदै छ । यस्तै बलेवा विमानस्थलबाट टाकुरी–पालुङखोला–हर्मीचौरसम्मको सडक २०७८ असारमा करिडोर निर्माणको जिम्मा पाएको नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । अर्थ मन्त्रालयले बजेट निकासा गरेको छ महिनापछि ठेक्का खोलिएको हो । भारत र चीनसँग जोडेर त्रिदेशीय सम्पर्कका रूपमा स्थापित हुने सो करिडोरको काम अगाडि बढ्ने अपेक्षा गरिएको छ । त्रिदेशीय सडकका रूपमा रहेको कालीगण्डकी करिडोरले छिमेकी भारत र चीनलाई जोडेको छ । मालढुङ्गाबाट गुल्मी रिडीसम्मको खण्डमा सेनाले २०७० सालदेखि काम गरेर सडक हस्तान्तरण गरेको छ । विसं २०७० असारमा शिलान्यास गरेपछि सेनाले ८० किमी ट्रयाक खोलेको थियो । सबै सडकखण्डको ट्रयाक खुलेपछि सेनाकै जिम्मामा सडक चौडा पारिएको छ । अब सडकमा नाली र कालोपत्रको काम बाँकी छ । अत्यधिक पहिरो र कडा चट्टान भएकाले सरकारले सेनालाई काम गर्ने जिम्मा दिएपछि ट्रयाक खुलेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:११
प्रतिक्रिया दिनुहोस्