पेस्तोल नपडकिएपछि अर्जेन्टिनाकी उपराष्ट्रपति हत्या प्रयासबाट जोगिइन्
काठमाडौँ । अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनर हत्या प्रयासबाट जोगिएकी छन् ।
फर्नान्डेज अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा रहेको आफ्नो घरबाहिर समर्थकहरूसँग भेट गरिरहेकी थिइन्, जब भीडबाट एक व्यक्ति बाहिर आए र उनको अनुहारमा पेस्तोल ताने । पेस्तोलमा पाँच बुलेट भरिएको तर ट्रिगर थिच्दा गोली ननिस्किए पछि उपराष्ट्रपति बचेकी थिइन् ।
किर्चनरलाई भ्रष्टाचारको आरोप लागेको छ । सोही मुद्दामा अदालतबाट सुनुवाइ सकेर घर फर्कदै गर्दा उनीमाथि आक्रमण भएको थियो । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छिन् ।
आक्रमणकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमले आक्रमणकारी ३५ वर्षीय ब्राजिलियन व्यक्तिको रूपमा पहिचान गरेका छन् । यद्यपि आक्रमणको कारण पत्ता लगाउन प्रयास जारी छ।
बिहीबार ढिलो राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति अल्बर्टो फर्नान्डेजले आक्रमणकारीको निन्दा गरेका छन् । उनले किर्चनरको हत्या प्रयासलाई सन् १९८३ मा प्रजातन्त्रको पुनरागमनपछिको देशको इतिहासमा सबैभन्दा गम्भीर घटना भएको बताए ।
राष्ट्रपतिले भने, ‘कसैसँग गहिरो मतभिन्नता हुन सक्छ तर घृणापूर्ण अभिव्यक्ति दिन सकिँदैन किनभने यसले हिंसा निम्त्याउँछ र हिंसासँगै लोकतन्त्रको अस्तित्व सम्भव छैन ।’ स्थानीय सञ्चारमाध्यममा शेयर भइरहेको भिडियो फुटेजमा एक व्यक्तिले उपराष्ट्रपतिको टाउकोमा बन्दुक तानिरहेको देख्न सकिन्छ । यसपछि उपराष्ट्रपतिले टाउको तल झारे तर बन्दुक जाम भएकाले गोली चलेन ।
सामाजिक सञ्जालमा पोष्ट गरिएको अर्को भिडियोमा भीडमा रहेका मानिसहरूले उपराष्ट्रपतिलाई संदिग्ध आक्रमणकारीबाट जोगाएको देख्न सकिन्छ । अर्जेन्टिनाका आर्थिक मामिला मन्त्री सर्जियो मासाले आक्रमणलाई ‘हत्याको प्रयास’ भनेका छन् ।
प्रहरी प्रवक्ताले रोयटर्स समाचार एजेन्सीलाई भने कि आक्रमणकारी पक्राउ परेको केही समयपछि घटनास्थलबाट केही मिटर टाढा बन्दुक पनि बरामद गरिएको थियो। हालैका दिनहरूमा भ्रष्टाचारको मुद्दा सुरु भएपछि उनका सयौं समर्थकहरू ६९ वर्षीय उपराष्ट्रपति किर्चनरको घरबाहिर भेला भएका थिए ।
उपराष्ट्रपति किर्चनरले २००७ देखि २०१५ सम्म राष्ट्रपति पदमा रहँदा राज्यको कोषमा दुरुपयोग गरेको आरोप छ । यस मामिलामा दोषी ठहर भएमा उनलाई १२ वर्षसम्मको जेल सजाय हुन सक्छ र राजनीतिमा आजीवन प्रतिबन्ध लाग्न सक्छ ।
यद्यपि, सिनेटको अध्यक्षको रूपमा, किर्चनरलाई विशेष छुट छ। सर्वोच्च अदालतले उनको सजाय स्वीकृत नगरेसम्म वा २०२३ को अन्त्यमा हुने निर्वाचनमा पराजित नभएसम्म उनलाई जेल पठाउन सकिँदैन ।
उपराष्ट्रपति किर्चनर राष्ट्रपति रहँदा उनीविरुद्ध भ्रष्टाचारका अन्य थुप्रै मुद्दा दर्ता भएका छन् । उनीविरुद्धको मुद्दामा सुनुवाइ चलिरहेको छ, केही महिनाभित्र फैसला आउन सक्छ ।