Nic Ad Nic Ad
Nic Ad Nic Ad

टुँडिखेलमा गौराको रौनक (तस्वीरहरु)

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– सुदूरपश्चिमेलीले काठमाडौँको टुँडिखेलमा गौरा पर्व मनाइ रहेका छन् । सुदूरपश्चिमका ९ वटा जिल्लाबाट काठमाडौँमा बसोबास गर्दै आएकाहरू टुँडिखेलमा भेला भएर पर्व मनाइरहेका हुन् । दार्चुलाका ७७ वर्षका लालबहादुर धामी पनि छोराको सहारामा टुँडिखेल पुगेका छन् । ‘वर्षमा एक दिन गाउँघर मै भएको अनुभव हुन्छ ।’ धामीले भने, ‘हामी सानै हुँदादेखि गौरा मनाउँदै आएका छौँ। अहिलेकाले त्यति रहर गर्दैनन् तर, हामीलाई साह्रै रमाइलो लाग्छ।’ लालबहादुर धामीमात्र नभई प्रदेशका ९ वटै जिल्लाका सुदूरपश्चिमेली टुँडिखेल पुगेका छन् । शिवको अर्धाङ्गिनी पार्वतीको अर्को नाम गौरी हो । सुदूरपश्चिममा गौरीलाई गौरा भन्ने चलन छ। धामी भन्छन्, ‘गौरा शिवकी श्रीमतीको नाम हो। हामीले उहाँलाई नै पुज्ने गरेका छौँ।’ कञ्चनपुरका विकास साउँद पनि टुँडिखेलमै भेटिए । नाति पुस्ताका साउँदलाई पर्वको बारेमा त्यति थाहा नभए पनि रमाइलो हेर्न र देउडा खेल्न टुँडिखेल पुगेका छन् । ‘गाउँमा पनि देउडा खेलिन्थ्यो। यहाँ पनि देउडा खेल्न आएको हौँ’ उनी सुनाउँछन् । भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरूप गौरी पर्वतराज हिमालय र मेनकाकी पुत्री हुन् । उनै गौरीलाई भारतको गढवाल र नेपालको सुदूरपश्चिमका विशेषगरी पहाडी जिल्लाहरूमा गौरा देवीको रूपमा पूजा अर्चना गरिँदै आइरहेको पाइन्छ। ‘यो वर्ष उज्याली गौराको पूजा हुँदै छ’ कैलाली की बसन्ती योगीले भनिन् । ‘भदौ महिनाको अगस्ति तारा उदयको हिसाबले गौरा पर्व मनाइन्छ। कहिले पूर्णिमा आउनु अघि हुन्छ भने कहिले औँसी आउनु अघि पर्छ। बुबाहरुको कथन अनुसार पूर्णिमा अघि आउने गौरालाई उज्याली गौरा भनिन्छ’, बसन्तीले गौराको बारेमा सुनाइन् । गौरा पर्व सुदूरपश्चिम क्षेत्रको मौलिक पहिचान बोकेको पर्व भएको उनीहरु बताउँछन् । विशेषगरी नारी सम्मानको पर्व भएको ७७ वर्षका धामी बताउँछन् । ‘हामी सानो हुँदा घरपरिवारका सबै सदस्यका लागि एक जोर नयाँ लुगा किनिदिनु हुन्थ्यो बुबाले’ धामीले भने, ‘विस्तारै ठूलो हुँदै गयौँ, भारतमा गएका बेला पनि बुबाआमाले गौराको बिरुडा प्रसाद ग्रहण गर्न घर फर्किनै पर्छ भन्नु हुन्थ्यो । चेलीबेटी तथा इष्टमित्रलाई समेत घरमा बोलाउने रमाइलो गर्ने गथ्र्यौँ । अब पहिलाको जति रौनक छैन।’ गौराको पूजा अर्चनाले विशेषगरी श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी र दीर्घायु हुने साथै परिवारमा सुख, समृद्धि हुने जनविश्वास रहेको पाइन्छ। विवाहित नारीहरूले प्रत्येक वर्ष गौराको उपासना अनिवार्य जस्तै भएको बसन्तीको भनाइ  छ। गौरा पर्वका कारण टुँडिखेल क्षेत्र सुदूरपश्चिममय भएको छ। त्यहाँको भाषा, कला, साहित्य, लोकसाहित्य, संस्कृति, इतिहास आदिको एक झल्को टुँडिखेलमा हेर्न सकिन्छ ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्