भारत आफैँले बनायो पहिलो पटक विमानवाहक युद्धपोत
भारतले पहिलो पटक आफैँले बनाएको विमानवाहक युद्धपोत उद्घाटन गरेको छ। चीनले युद्धपोतहरुको संख्या तीव्र गतिमा बनाइरहँदा भारत पनि आफैँ पानीजहाज बनाउने क्षमता विस्तार गरिरहेको छ।
भारतले सो जहाजलाई आईएनएस विक्रान्त नाम दिएको छ। यो भारतको दोस्रो ठूलो विमानवाहक युद्धपोत हुनेछ। यसअघि भारतीय नौसेनाले सोभियतकालीन आईएनएस विक्रमादित्य सञ्चालन गरिरहेको छ। सो जहाज २००४ मा भारतले रुसबाट किनेको थियो।
आईएनएस विक्रान्त भने भारतीय नौसेनाले डिजाइन गरेको हो। यसको निर्माण दक्षिण भारतको कोचिन सिपयार्डमा गरिएको हो। २६२ मिटर लामो यो जहाजको उद्घाटन शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीले गरे।
मोदीले नयाँ जहाजले नौसेनाको क्षमता बढाउने मात्र नभई अब भारत आफैँ विमानवाहक युद्धपोत बनाउनसक्ने सीमित मुलुकहरुमध्ये एक बनेको बताए। ‘यो ऐतिहासिक दिन र ठूलो उपलब्धि हो,’ मोदीले भने, ‘यो भारतको रक्षा क्षेत्रलाई आत्मनिर्भर बनाउने सरकारको प्रयासको एक उदाहरण हो।’
यो भारतमा बनेकामध्ये सबैभन्दा ठूलो युद्धपोत हो। यसले करिब १६ सय मानिस बोक्न सक्छ भने ३० विमानको समूह सञ्चालन गर्न सक्छ। सुरुमा यो विमान रुसनिर्मित मिग–२९ के लडाकु विमानमा निर्भर रहेनछ।
४७ हजार ४ सय टन तौल भएको युद्धपोत २०२३ को अन्त्यसम्ममा पूर्ण रुपमा सञ्चालनमा आउनेछ। यो जहाजमा फ्रान्सबाट किनेको राफेल र बोइङले निर्माण गरेको र भारतले किन्ने चर्चा चल्दै गरेको एफ÷ए–१८ ब्लक ३ सुपर अर्नेट पनि सञ्चालन गर्ने बताइएको छ।
यो जहाजको ७५ प्रतिशत पार्टपुर्जा भारतमै निर्मित हुन्। जसलाई आधा दर्जन ठूला कम्पनी र एक सय साना व्यवासायले उपलब्ध गराएको भारतको रक्षा मन्त्रालयले जनाएको छ। सो जहाज निर्माणमा ६ वर्ष ढिलाइ हुँदा लागत बढेर २।५ अर्ब डलर पुगेको थियो।
भारतीय सेनामा १८ लाख सैनिक छन्। जसमध्ये ठूलो हिस्सा चीन र पाकिस्तानको सीमा क्षेत्रमा तैनाथ छन्। पछिल्लो समय चीनले हिन्द महासागरमा आफ्नो उपस्थिति बढाउन थालेपछि भारतको चिन्ता बढ्दै गएको छ।
अगस्टमा एक चिनियाँ जहाज श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा आउँदा नयाँ दिल्लीमा खलबली मच्चिएको थियो। शुक्रबार मोदीले इन्डो–प्यासिफिक र हिन्द महासगारमा भारतको सुरक्षा चासोलाई लामो समय बेवास्ता गरिएको बताए।
‘आज यो क्षेत्र हाम्रो प्रमुख प्राथमिकतामा पर्छ। त्यसैले बजेट बढाउनेदेखि क्षमता बढाउनेसम्मका हरेक क्षेत्रमा हामी काम गरिरहेका छौँ,’ मोदीले भने। इन्डो–प्यासिफिकको विशाल समुद्री क्षेत्रमा विवाद छ। चीनसहित फिलिपिन्स, इन्डोनेसिया, भियतनाम, जापान र दक्षिण कोरियाले ती क्षेत्रहरुमा दाबी गर्छन्। तेल र ग्यासको भण्डार रहेको सो क्षेत्र रणनीतिक रुपले महत्वपूर्ण छ।
चिनियाँ नौसेनाले १० वर्षयता आफूलाई आधुनिकीकरण गरिरहेको छ। र, ऊसले विश्वभर सैन्य अभियान सञ्चालन गर्ने क्षमता हासिल गरेको छ। त्यसका लागि विमानवाहक युद्धपोत महत्वपूर्ण हुने गर्छ।
चिनियाँ नौसेनासँग हाल ३३५ जहाज छन्। अमेरिकी रक्षा मन्त्रालयका अनुसार सो संंख्या २०२५ मा ४२० पुग्ने छ भने २०३० सम्ममा ४६० पुग्नेछ। गत जुनमा मात्रै चीनले तेस्रो विमानवाहक युद्धपोत सञ्चालनमा ल्याएको थियो। सो जहाजमा अमेरिकी जहाजहरुमा जस्तै इलेक्ट्रोम्याग्नेटिक एयरक्राफ्ट लन्च सिस्टम जडान गरिएको छ। जबकि भारतको युद्धपोतमा भिरालो धावनमार्गबाट विमान उड्नुपर्छ।
भारतको नौसेनासँग अहिले दुई विमानवाहक युद्धपोत, १० डेस्ट्रोएर, अलि ठूला १२ फ्रिगेट र साना २० कोर्भेट जहाज छन्।
भारतको पुरानो विमानवाहक जहाज आईएनएस विक्रमादित्य १९८७ मा सोभियत संघमा बनेको थियो। एड्मिरल गोर्सकोव नामको सो जहाजले सोभियत नौसेना र रुसी नौसेनामा सेवा गरेको थियो। १९९६ मा त्यसलाई सेवाबाट हटाइएको थियो। जसलाई २००४ मा भारतले २।३५ अर्ब डलर तिरेर किनेको थियो।
अल जजिराबाट