युक्रेनकी प्रथम महिला भन्छिन, ‘बेलायत सिक्का गनिरहँदा हामी लाश गनिरहेका छौं’
किभ । युक्रेनकी प्रथम महिला तथा राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्कीले बेलायतलाई कडा जवाफ दिएकी छिन् । उनीहरूले पैसा (सिक्का) गनिरहँदा युक्रेनले लाशहरूको संख्या गणना गरिरहेका बताएकी छन् ।
एक अन्तर्वार्तामा, उनले रुस-युक्रेन युद्धले आफ्ना सहयोगीहरूलाई पार्ने प्रभावको बारेमा जवाफ दिएकी हुन् । युक्रेनको राजधानी किभमा भएको उक्त अन्तर्वार्तामा ओलेना जेलेन्स्कीलाई यस्तो प्रश्न गरिएको थियोः बेलायतमा बढ्दो उर्जा मूल्यले जनतासँग कम विकल्प भएको र त्यसले कठिनाइ थपिरहेको छ । तपाई त्यहाँबाट हामीलाई हेरिरहेका मानिसलाई के भन्न चाहनुहुन्छ जो युक्रेनी जनताको दुख देखेर दुःखी पनि भइरहेका छन् र आफ्नो बिल तिर्न नसकेर चिन्तित पनि छन् ?
सो प्रश्नको जवाफमा ओलेना जेलेन्स्कीले भनिन्, ‘म बुझ्छु कि परिस्थिति धेरै गाह्रो छ । तर कोभिड-१९ महामारीका बेला मुद्रास्फीति बढ्दै गएकोले युक्रेन पनि प्रभावित भएको थियो । युक्रेनमा मूल्य अझै बढिरहेको छ र यहाँ मानिसहरू पनि मरिरहेका छन् । जब तपाइँहरु बैंक खाता वा खल्तीमा भएको पैसा गन्न सुरु गर्नुहुन्छ, हामी पनि गणना सुरु गर्छौं तर हामी लाशको संख्या गन्छौं ।’
उनले भने, ‘केही दिनअघि खार्किभको पार्कमा हिंड्ने क्रममा एक महिलाको मृत्यु भयो । धेरै मानिस घाइते भए । यदि सहयोग बलियो भयो भने यो अवस्था छोटो समयमै बद्लिन्छ ।’ ओलेना जेलेन्स्कीले युद्धले गर्दा भएको जनधनको क्षतिलाई बाहिर प्रकाशमा ल्याउनु महत्त्वपूर्ण हुने कुरामा जोड दिइन् ।
यसअघि युक्रेन भ्रमणमा गएका प्रधानमन्त्री बोरिस जोनसनले युरोपमा रहेका परिवारहरूले जीवनयापनको क्रममा आइपर्ने आर्थिक संकट व्यहोर्नुपर्ने र रुसी आक्रमणविरुद्ध युक्रेनको साथमा उभिनुपर्ने बताएका थिए ।
यस वर्ष बेलायतमा मुद्रास्फीति विगत ४२ वर्षमा सबैभन्दा उच्च १३.३ प्रतिशत हुने अनुमान गरिएको छ । बैंक अफ इङ्गल्याण्डले बढ्दो ऊर्जा मूल्य मुद्रास्फीति र सुस्त वृद्धिको मुख्य कारण भएको जनाएको छ ।