वीरगन्ज महानगरपालिकाद्वारा डेढ महिनामा ७ करोड ४३ लाख आन्तरिक आय सङ्कलन
वीरगञ्ज– स्थानीय तहलाई आत्मनिर्भर बनाउन करको दायरा फराकिलो र पारदर्शी बनाएसँगै वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको डेढ महिनामा ७ करोड भन्दा बढी आन्तरिक आय सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को साउन १ गतेदेखि आज सम्म डेढ महिनाको अवधिमा महानगरपालिकाले ७ करोड ४३ लाख ३० हजार ७ सय ९४ रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गरेको राजस्व शाखाका अधिकृत मनोज कर्णले जानकारी दिनुभयो ।
महानगरपालिकाले सम्पत्ति कर, घर जग्गा रजिष्ट्रेसन दस्तुर, घर बहाल कर, सवारी साधन कर, पूर्वाधार उपयोगमा लाग्ने कर, आखेटोपहारमा लाग्ने कर, न्यायिक, नक्सापास, सिफारिस तथा नाता प्रमाणित दस्तुर, व्यक्तिगत घटना दर्ता लगायतका शीर्षकमा आन्तरिक आम्दानी गर्दै आएको छ ।
चालु आर्थिक वर्षमा आन्तरिक आय ९८ करोड २१ लाख रुपैयाँ पुर्याउने लक्ष्य महानगरले राखेको छ । महानगर बन्नका लागि आन्तरिक आम्दानी १ अर्ब रुपैयाँभन्दा माथि हुनुपर्ने उल्लेख छ ।
तर स्थानीय सरकार गठन भई एक कार्यकाल बितिसक्दा समेत वीरगञ्ज महानगरपालिकाले १ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्न सेकेको छैन । सम्पत्ति कर लगायत केही राजस्व शीर्षकको दर घटाए पनि लक्ष्य अनुसार राजस्व सङ्कलन हुने राजस्व शाखाका अधिकृत मनोज कर्णले दाबी गर्नुभयो ।
दसैँ तिहारपछि वडाबाटै १ हजार रुपैयाँसम्मको राजस्व अनलाइन सिस्टमबाट सङ्कलन गरिने तयारी समेत भइरहेको कर्णले बताउनुभयो । वडाबाट अनलाइन कर दस्तुर सङ्कलन गर्ने उद्देश्यले महानगरले गत साउनमै वडामा खट्ने कम्प्युटर अपरेटरहरूलाई तालिम दिएको थियो ।
तालिम लिए पनि उनीहरूले प्रभावकारी काम गर्न सकिरहेका छैनन् । १६ वटा ग्रामीण वडाबाट पनि कर तिर्नका लागि महानगरपालिका नै आउनुपर्ने बाध्यता रहेको छ ।
त्यसैले पहिलो चरणमा वडा नं २८, २९, ३०, ३१ र ३२ नम्बर वडामा राजस्व शाखाकै टोली गएर कर सङ्कलन गर्न सिकाउने र पछि बाँकी ९ वटा वडामा पनि पुगेर कम्प्युटर अपरेटरलाई दक्ष बनाउने राजस्व व्यवस्थापन महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:५८
प्रतिक्रिया दिनुहोस्