नेभिगेशन
जीवनयापन

एमाले अछामले गर्याे सर्वसम्मत भीम रावलको नाम सिफारिस

अछाम । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) अछामले प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको अछाममा दुवै क्षेत्रबाट आगामी निर्वाचनको उम्मेदवार सर्वसम्मत रूपमा एकल नाम सिफारिस गरेको छ । दलको सम्बन्धित क्षेत्र समन्वय समितिले प्रतिनिधिसभाको अछाम –१ मा डा.भीमबहादुर रावल र क्षेत्र नं. २ मा यज्ञबहादुर बोगटीको नाममा सहमति जुटाई एकल रूपमा सिफारिस गरेको हो । रावल र बोगटी सोही क्षेत्रका वर्तमान प्रतिनिधिसभा सदस्य हुन् । एकता र सर्वसम्मतको सन्देश दिँदै एक नाम सिफारिस गरिएको एमाले अछामका इन्चार्ज तथा केन्द्रीय सदस्य झपट बोहराले बताए। चार वटा प्रदेश निर्वाचन क्षेत्रमा भने सर्वसम्मत सहमति हुन सकेन । अछाम –१ को (क) र (ख) प्रदेशमा चार–चार जनाको सिफारिस भएको छ । यस्तै, अछाम –२ को (क)बाट सात जना र (ख) बाट आठ जनाको नाम सिफारिस भएको एमाले अछामका उपसचिव डम्बर बिसीले जानकारी दिए। अछाम –१ को (क) प्रदेश निर्वाचनमा प्रत्यक्षतर्फ प्रकाश शाह, देवबहादुर कुँवर, देवबहादुर साउँद र सीता कुँवरको नाम सिफारिस गरिएको छ । अछाम –२ को (ख) बाट कृष्णप्रसाद जैसी, केशरबहादुर साउँद, डीबी साउँद र पद्मा तिमिल्सिना न्यौपानेको नाम सिफारिस भएको छ । अछाम –२ को (क) बाट सात जना र (ख) बाट आठ जनाले प्रदेशको प्रत्यक्षतर्फको उम्मेदवार हुन आवेदन आएपछि सोहीअनुसार सिफारिस गरिएको सो दलले जनाएका छन् । अछाम –२ को (क) प्रदेश निर्वाचनमा प्रत्यक्षतर्फ बमबहादुर बिसी, भीमबहादुर विष्ट, कमल रावल, बलबहादुर कुँवर, नन्दसिंह चलाउने, प्रेम खत्री र शिद्धादेवी शाहीको नाम आएको छ । अछाम–२ को (ख) मा  शिवप्रसाद उपाध्याय, भीम जनला, कृष्ण साउँद, चन्द्रबहादुर बोहरा, भीम रावल (कालोटोपी), टोपबहादुर शाही, दीपक अधिकारी, लिलाराज केसीको नाम सिफारिस गरिएको एमाले अछामले जानकारी दिएको छ । सङ्घीय र प्रदेशको प्रत्यक्ष र समानुपातिक सूची सोमबार जिल्ला कमिटीले तयार पारेर प्रदेश कमिटीमा पठाउने बताइएको छ । नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), राप्रपाले यसअघि नै उम्मेदवार सिफारिस गरिसकेको छ । २०७४ सालको निर्वाचनमा एमाले र माओवादी गठबन्धनले अछामका सबै क्षेत्रमा शत प्रतिशत नतिजा निकालेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै