केन्याविरुद्ध एकदिवसीय सिरिजमा नेपालको क्लिन स्वीप
काठमाडौँ– घरेलु टोली केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा नेपालले क्लिन स्वीप गरेको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले केन्यालाई ६ विकेटले हरायो ।
यससँगै नेपालले सिरिज ३–० ले जितेको छ । यसअघि नेपाल पहिलो खेलमा सात विकेट र दोस्रो खेल १७ रनले विजयी भएको थियो ।
केन्याले दिएको दुई सय ५६ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले ४७.१ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालको जितमा जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धसतकीय इनिङ्स खेले । अर्जुनले ५८, आसिफले ५६ र वसिरले अविजित ५२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले अविजित ४६ र ज्ञानेन्द्र मल्लले ३३ रन बनाए। बलिङमा केन्याका भिराज पटेल, सेम एन्गोचे र याश तालातीले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ५५ रन बनाएको थियो । केन्याका लागि कोलिन्स अबुयाले सर्वाधिक ८४ रन बनाए । लुकास एनडानडासनले अविजित ५९, सुखदिप सिंहले ३७, इमानुएल बुन्डीले २३ र कप्तान शेम एनगोचे १७ रन बनाए।
बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले दुई दुई विकेट लिए । वसिर अहमद र साहब आलमले एक एक विकेट झारे। यसअघि नेपालले केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज पनि ३–२ ले जितेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:०२
प्रतिक्रिया दिनुहोस्